नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई सबल, व्यवस्थित र प्रतिस्पर्धी बनाउन ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ अघि सारेको छ। नीतिले दलाल व्यवसायीको पुँजी, प्रविधि, सुशासन र जोखिम व्यवस्थापन सुदृढ गर्दै बहुसेवामुखी मध्यस्थकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

प्रस्तावित नीतिअनुसार दलाल व्यवसायीलाई पुँजी र क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरिनेछ। ‘क’ श्रेणीमा धितोपत्र व्यापारी, ‘ख’ मा पूर्ण सेवा धितोपत्र दलाल, ‘ग’ मा कारोबारमुखी धितोपत्र दलाल र ‘घ’ मा विशिष्टीकृत धितोपत्र दलाल रहनेछन्।

नीतिले परम्परागत खरिद–बिक्री सेवालाई विस्तार गरी मार्जिन कारोबार, सर्ट सेलिङ, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा परामर्श सेवा थप गर्ने लक्ष्य लिएको छ। यस्ता उच्च जोखिमयुक्त सेवा सञ्चालन गर्न दलाल व्यवसायीले पर्याप्त पुँजी, प्रविधि र जोखिम व्यवस्थापन प्रमाणित गरी छुट्टै स्वीकृति लिनुपर्नेछ।

धितोपत्र बोर्डले न्यूनतम चुक्ता पुँजीका साथै जोखिममा आधारित पुँजी प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ। लगानीकर्ताको रकम र धितोपत्र संरक्षणका लागि ग्राहकको सम्पत्ति दलालको आफ्नै सम्पत्तिबाट पूर्ण रूपमा अलग राखी छुट्टै खाता सञ्चालन गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।

साइबर सुरक्षा र स्वचालित जोखिम नियन्त्रण प्रणालीलाई पनि अनिवार्य बनाइएको छ। प्रविधि प्रणाली असफल भएमा बोर्ड र नेप्सेलाई कारोबार रोक्ने आकस्मिक अधिकार रहनेछ। दलाल व्यवसायीबीच स्वैच्छिक मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै संकट व्यवस्थापनका लागि सुधारात्मक कदम चालिने नीतिमा उल्लेख छ।

नियामक निकायले वास्तविक समयको ड्यासबोर्डमार्फत जोखिममा आधारित सुपरिवेक्षण गर्नेछ। यो नीति संस्थागत सुदृढीकरण, सेवा विस्तार र एकीकृत मध्यस्थता प्रणाली विकास गरी तीन चरणमा कार्यान्वयन गरिनेछ।