भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरूले शनिबार भारतीय परिकारको स्वादसँगै स्थानीय कला र संस्कृतिको अनुभव गरे। नयाँदिल्लीस्थित भारत मण्डपममा आयोजित रात्रिभोजमा भारतीय खानपान र सांस्कृतिक प्रस्तुतिलाई विशेष महत्त्व दिइएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आतिथ्यमा भएको रात्रिभोजमा शाकाहारी परिकारलाई प्राथमिकता दिइएको थियो। भारतले ‘श्री अन्न’ नाम दिएको मोटा अनाज – चिनो, कागुनो, कोदो, फापर आदिलाई मेनुको विशेष आकर्षण बनाइएको थियो।

यी परम्परागत अनाजबाट तयार गरिएका परिकारसँगै हिमाली गुच्छी च्याउ, दक्षिण भारतीय तरकारी र विभिन्न मिठाई पाहुनालाई खुवाइएको थियो। गुजरातको खान्डवीदेखि हिमाली गुच्छी च्याउ, दक्षिण भारतीय पोरियल र पुरानो दिल्लीको जलेबीसम्मका परिकारले भारतको विविधता पस्किएका थिए।

रात्रिभोजको सुरुवातमा बेसनबाट बनाइएको रोल ‘खान्डवी मिल-फुई’ र ‘खुम्ब गलौटी’ नामक नरम मशरूम कबाब प्रस्तुत गरियो। मुख्य भोजनमा पनीर लबाबदार, गुच्छी मार्मिक, गाजर-फली पोरियल र चिनोसहितको पुलाउ समावेश थियो।

मिठाईतर्फ मौसमी फलफूल र जेरीको संयोजन रहेको ‘दिल्ली फ्रुट क्रिम’ तथा सुनको पातले सजाइएको ‘शहतूत फिरनी’ परोसिएको थियो। यसरी मेनु र प्रस्तुतिमार्फत भारतले परम्परागत खानपान र कलालाई अन्तर्राष्ट्रिय पाहुनासमक्ष पुर्‍याएको छ।

‘ब्रिक्स सिम्फनी’ मार्फत कूटनीतिक र सांस्कृतिक सन्देश

खानपानसँगै रात्रिभोजमा भारतसहित ब्रिक्सका सदस्य तथा साझेदार देशका करिब १ सय ६० कलाकारले ‘ब्रिक्स सिम्फनी’ शीर्षकमा सांगीतिक तथा नृत्य कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा भरतनाट्यम, कुचिपुडी, ओडिसी र कथकजस्ता शास्त्रीय नृत्य प्रदर्शन गरिएको थियो।

विभिन्न देशका परम्परागत वाद्ययन्त्र र संगीत शैलीलाई भारतीय शास्त्रीय नृत्यसँग जोडेर संयुक्त प्रस्तुति तयार गरिएको थियो। विभिन्न सभ्यता र संस्कृतिलाई एउटै मञ्चमा ल्याएर ब्रिक्स देशहरूबीच सांस्कृतिक सम्बन्ध बलियो बनाउने उद्देश्य कार्यक्रमले राखेको थियो।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को नेतृत्वमा भएको यो कार्यक्रमले कूटनीतिक भेटघाटलाई अझ प्रगाढ बनाएको छ। यसरी ब्रिक्सको रात्रिभोज कूटनीतिकसँगै भारतीय स्वाद, कला र संस्कृतिको प्रवर्द्धन गर्ने अवसर बन्यो।