स्थानीय चुनावमा सहकार्यतर्फ अघि बढे एमाले र नेकपा

काठमाडौं । प्रदेश र स्थानीय तह चुनावमा सहकार्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गृहकार्य थालेका छन् । दुवै दलले चुनावी गठबन्धनका लागि पार्टीका तल्ला कमिटीलाई समझदारीको खाका बनाउन अनौपचारिक निर्देशन दिएका हुन् । गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा कमजोर जनमत पाएपछि ओली र दाहालले प्रदेश सरकारबाट सहकार्य थालेका थिए, जसअनुसार ५ प्रदेशमा एमाले र नेकपाबीच सत्ता साझेदारी छ । वामपन्थी मतको थप क्षयीकरण रोक्ने र राजनीतिक प्रभाव बढाउने उद्देश्यले सहकार्यलाई निर्वाचनसम्म निरन्तरता दिने प्रयास भइरहेको दुवै दलका नेताहरूको भनाइ छ । गत साता ओली र दाहालबीच सहकार्यका विषयमा कुराकानी भएको थियो । ३० असोजमा एमालेले कांग्रेस नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुई नेताबीच छलफल भएको हो । ‘आगामी दिनमा वामपन्थी शक्तिसँग सहकार्य गर्ने गरी दुई नेताबीच निरन्तर कुराकानी भइरहेको छ,’ ओलीनिकट एक नेताले भने, ‘प्रदेश सरकारमा भएको सहकार्यलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी आधार तय हुँदै छ ।’ सहकार्य भए संसद् र सडकबाट सरकारलाई दबाब दिने ओली र दाहालको तयारी छ । नेताहरू माथिको अनुसन्धान, सुकुमवासी विस्थापन र ट्रेड युनियन खारेज गर्नेलगायतका सरकारी निर्णयविरुद्ध दुवै दलको साझा धारणा छ । दुई पार्टीबीच थप विश्वास आर्जन गरी स्थानीय र प्रदेश निर्वाचनसम्म सहकार्यको आधार बनाइनेछ, यस पटक माथिबाट नभई स्थानीयस्तरमा बलियो समझदारी बनाउन गृहकार्य भइरहेको छ : भानुभक्त ढकाल, एमाले सचिव०७४ को आमनिर्वाचनमा एमाले र तत्कालीन माओवादीबीच गठबन्धन भएको थियो । निर्वाचनको नतिजापछि दुवै पार्टी एक भएका थिए । यस पटक भने केन्द्रबाट गठबन्धनको खाका तय गर्नुभन्दा जिल्ला तथा स्थानीय पार्टी कमिटीमार्फत समझदारी निर्माण गर्ने प्रयास भइरहेको छ । एमाले सचिव भानुभक्त ढकालले नेकपासँग प्रदेश सरकारमा सत्ता साझेदारी भइसकेकाले बलियो आधार तयार गरी स्थानीय तह र प्रदेश निर्वाचनमा सहकार्य गरिने बताए । ‘दुई पार्टीबीच थप विश्वास आर्जन गरी स्थानीय र प्रदेश निर्वाचनसम्म सहकार्यको आधार बनाइनेछ,’ उनले भने, ‘यस पटक माथिबाट नभई स्थानीयस्तरमा बलियो समझदारी बनाउन गृहकार्य भइरहेको छ ।’ दुई दलबीच राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र आममानिसले भोग्दै आएको महँगीलगायतका विषयमा पनि साझा कार्यक्रम बनाउने तयारी छ । नेकपा नेता वर्षमान पुनले दुई दलबीच प्रदेश सरकारबाट सहकार्यको ढोका खुलिसकेको बताए । ‘हामीले सहकार्य सुरु गरिसकेका छौं । आगामी दिनमा सडक, सदन र चुनावसम्म पनि सहकार्यको ढोका खुलिसकेको छ,’ उनले भने, ‘संविधान, लोकतन्त्रको रक्षालगायतका विषयमा पनि एमालेसँग सहकार्य गर्ने भनेका छौं ।’ हामीले सहकार्य सुरु गरिसकेका छौं । आगामी दिनमा सडक, सदन र चुनावसम्म पनि सहकार्यको ढोका खुलिसकेको छ, संविधान, लोकतन्त्रको रक्षालगायत विषयमा सहकार्य गर्ने भनेका छौं : वर्षमान पुन, नेकपा नेताशनिबार दुईमहिने राजनीतिक अभियान सुरु गर्दै दाहालले एमालेसँग सहकार्य सुरु भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका थिए । ‘लोकतन्त्र संकटमा छ, राष्ट्रियता, लोकतान्त्रिक अधिकार संकटमा छ । यसको रक्षाका लागि जो–जोसँग मिल्न सकिन्छ, मिल्न तयार छौं,’ उनले भने, ‘यसको अर्थ तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना छैन । इतिहास, पृष्ठभूमिका सम्बन्धमा हामीले धेरै समीक्षा गर्नुछ ।’ यसअघि १८ असोजमा नेकपा बागमती प्रदेश समितिको कार्यक्रममा पनि दाहालले वामपन्थीहरूबीच सहकार्यका लागि समझदारी भइसकेको बताएका थिए । ‘एमाले र मसालसँग सहकार्य गरेर जाने त समझदारी नै गरिसकेका छौं,’ उनले भनेका थिए, ‘अन्य देशभक्त र वामपन्थीसँग पनि निरन्तर छलफल गरिरहेका छौं ।’ १४ असारमा एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा एउटै मञ्चमा सहभागी भएपछि ओली र दाहालले सार्वजनिक रूपमै सहकार्यबारे धारणा राखेका थिए । ओलीले पनि वामपन्थी शक्तिबीच सहकार्यको आवश्यकता औंल्याउँदै आएका छन् । उनले असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकमा नेकपासँग सहकार्य गर्न सकिने बताएका थिए । एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि सहकार्यका लागि आह्वान गरिएको छ । ‘प्रतिकूल परिस्थितिमा राष्ट्रिय हितको रक्षा, लोकतन्त्र र संविधानको जगेर्ना एवं जनताका हितका प्रश्नमा सार्थक संवाद, सहकार्य र एकताका लागि एमाले सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, नागरिकहरू एवं बौद्धिक समुदायमा आह्वान गर्छ,’ निर्देशनमा भनिएको छ । जेन–जी आन्दोलन, २४ भदौको प्रदर्शन र २१ फागुनको निर्वाचनपछि लोकतन्त्र संकटमा परेको उल्लेख गर्दै ओलीले वामपन्थीसहित लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् । ‘वामपन्थी शक्ति कमजोर गर्ने काम भइरहेको छ । प्रतिगमन रोक्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेछ,’ ओलीले असार दोस्रो साता भनेका थिए, ‘यतिबेला (सरकारले) प्रतिगमन गरेर हैरान छ । प्रतिगमन रोक्ने मुख्य काम हो । सबै वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर जानुपर्छ ।’ ०७४ को निर्वाचनमा भरोसा गरेर दिएको करिब दुईतिहाइ मतलाई एमाले र तत्कालीन माओवादीले जोगाउन सकेका थिएनन् । ओली र दाहालबीचको शक्ति संघर्षका कारण त्यो राजनीतिक शक्ति छिन्नभिन्न भएको थियो । ०७४ को निर्वाचनमा एमाले र तत्कालीन माओवादीले झन्डै दुईतिहाइ अर्थात् १७४ सिट जितेका थिए । समानुपातिकतर्फ दुवै दलले करिब ४७ प्रतिशत मत पाएका थिए । ०७९ को निर्वाचनमा भने यी दुई दलको मत करिब ४२ प्रतिशतमा झरेको थियो । त्यसअघि ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी, एमाले र अन्य वामपन्थी दलले करिब ६० प्रतिशत मत पाएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनीहरूको मत करिब ४२ प्रतिशत थियो । हाल प्रतिनिधिसभामा एमालेका २५ र नेकपाका १७ सिट छन् । समानुपातिकतर्फ एमालेले १३.४४ र नेकपाले ७.४९ प्रतिशत मत पाएका थिए । दुवै दलको मत जोड्दा २०.९३ प्रतिशत हुन्छ । आगामी निर्वाचनमा गठबन्धन नगरे वामपन्थी मत गुम्ने जोखिम रहेको भन्दै ओली र दाहालले चुनावी सहकार्यको गृहकार्य थालेको नेताहरूको भनाइ छ । कान्तिपुरबाट

