नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विजयी सुरुवात गरेको छ । मंगलबार सम्पन्न रोमान्चक खेलमा चितवनले विराटनगरलाई ८ रनले हराएको हो ।
डेभिड मलानको अर्धशतक, चितवनद्वारा १५८ रनको लक्ष्य
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । चितवनका लागि डेभिड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ७० रनको योगदान दिए ।उनले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै, रवि वोपारा ३२ तथा डान मोस्ली २९ रनमा अविजित रहे भने देव खनालले १२ रन जोडे । बलिङतर्फ विराटनगरका एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।
१ सय ४९ रनमा समेटियो विराटनगर, कमल सिंहको ४ विकेट
१ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ दशमलव ३ ओभरमा १ सय ४९ रनमा अलआउट भयो । विराटनगरका लागि इमरान शेखले ३९ तथा आन्द्रे रसेलले ३३ रन जोडे ।
मात्र १७ बल खेलेका रसेलले ४ छक्का र १ चौका प्रहार गर्दा दर्शकबाट व्यापक हुटिङ चल्यो । यस्तै, लोकेश बमले २६ तथा बसिर अहमदले १३ रन बनाए ।
बलिङतर्फ चितवनका कमल सिंह ऐरी एक्लैले चार विकेट लिए । यस्तै, रिजन ढकालले दुई तथा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए ।


