(एनपिएल)मा कर्णालीकाे राेमाञ्चक जित

काठमाडौं । युवा स्टार युनिस ठकुरी चम्किदा जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको कर्णालीले निर्धारित १९.१ ओभरमा अल आउट हुँदा एक सय ३३ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा जनकपुरले १९.२ अल आउट हुँदा मात्र ११३ रन बनायो । पहिलो खेलमै जितसँगै कर्णालीले दुई अंक जोडेको छ । जनकपुर भने पहिलो खेलमै पराजित भयो । लक्ष्य पछ्याएको जनकपुरको लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । १७ बलमा दुई छक्का हिर्काएका उनलाई पाकिस्तानी बलर हुसैन तलातले गुल्शन झाबाट छक्का हान्ने क्रममा क्याच गराएका थिए । ओपनर मोइन अली र कप्तान हर्मित सिंहले समान १९ रन बनाएका थिए । अनिल शाहले ११ तथा जेम्स निसमले १५ रनको योगदान गरे । यसअघि ओपनर मयन यादव १४ रन बनाउँदा अल आउट भएका थिए । युनिस विक्रमले १६ ओभरमा मेडनसहित लगातार दुई विकेट लिएपछि जनकपुर दबाबमा आएको थियो । युनिसले १५.१ ओभरमा जेम्स निसम र १५.२ ओभरमा आदित्य महतालाई एलबिडब्लु धरापमा पारेका थिए । कर्णालीको लागि युनिस विक्रम ठकुरी र हुसैन तलातले सर्वाधिक समान ३ विकेट लिए । युनिसले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चिएका थिए । यस्तै, हुसैन तलातले ४ ओभरमा २६ रन दिएका थिए । नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले समान एक विकेट लिएका थिए । पहिलो इनिङ्समा कर्णालीको लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । बंगलादेशका ओपनिङ ब्याटरले २९ बलमा चार छक्का हिर्काएका हुन् । पाँचौ नम्बर ब्याटिङमा पुगेका पवन सरार्फले सम्हालिएको प्रदर्शन गर्दै ३७ बलमा ३७ रन बनाएका थिए । उनले ३ छक्का प्रहार गरे । यसअघि ओपनर मार्क वाट मात्र १ रन बनाएर आउट भए । दीपक डुम्रेले १३ तथा हुसैन तलातले ३ रन बनाए । तलात जारी एनपिएल खेल्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन् । पाकिस्तान क्रिकेट बोर्डले एनपिएल क्लबलाई आफ्नो खेलाडी खेलाउन २५ हजार अमेरिकी डलर तिर्नुपर्ने सर्त राखेको थियो । अन्य टिमले तेस्रो खेलसम्म आफ्ना अनुबन्धित खेलाडी नखेलाउँदा कर्णाली याक्सले २५ हजार अमेरिकी डलर (नेपाली ३५ लाख) तिर्दै तलातलाई मैदान उतारेको हो । यसबाहेक आशा गरिएको अलराउन्डर गुल्शन झा १२, कप्तान सोमपाल कामी १ र नन्दन यादव ९ रन मात्रै बनाएर आउट भएका थिए । जनकपुरको लागि कप्तान हर्मित सिंहले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा एक मेडनसहित २२ रन खर्चिएका हुन् । डेब्यु गरेको ट्यालेन्ट हन्टबाट छानिएका राहुल यादवले २ विकेट लिए । यस्तै, मोइन अलीले २ तथा ललित राजवंशीले एक विकेट लिएका थिए । आज नै भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो । अब, बुधबार हुने एकमात्रै खेलमा पोखरा एभेन्जर्सले सुुुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । प्रतियोगितामा दुबै टिम पहिलो जितको खोजीमा छन् । सुदूर पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । पोखराको भने यो पहिलो खेल हो ।

