विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत्तर्फ ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ। यी आयोजनाको कुल उत्पादन क्षमता ३ हजार २ सय ११ मेगावाट रहेको छ।
सोही अवधिमा सौर्य ऊर्जातर्फ ३ सय ११ मेगावाट क्षमताका सात वटा आयोजनाले सर्वेक्षण अनुमति पाएका छन्।
प्रसारण लाइन विस्तार र उत्पादन अनुमति
विभागले प्रसारण लाइनतर्फ २२० केभी क्षमताको १ सय ७९ सर्किट किलोमिटर र १३२ केभी क्षमताको २ सय ७० सर्किट किलोमिटरका आयोजनालाई सर्वेक्षण अनुमति दिएको छ। यसैगरी ३३ केभी क्षमताको १ सय ३२ सर्किट किलोमिटरका आयोजनाले पनि अनुमति पाएका छन्।
उत्पादन अनुमतिपत्रतर्फ १ हजार ८ सय ५७ मेगावाट क्षमताका २९ वटा जलविद्युत आयोजना सूचीकृत भएका छन्। सौर्य ऊर्जातर्फ भने ३१ मेगावाट क्षमताका तीन आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन्।
वार्षिक साढे ३ अर्ब रोयल्टी संकलन
विभागले वार्षिक रूपमा करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको रोयल्टी संकलन गर्दै आएको छ। संकलित रोयल्टी रकम प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने गरेको छ।
Businesspana
यसबाट प्रदेश र स्थानीय तहको आर्थिक विकासमा ठूलो योगदान पुगेको विभागको भनाइ छ।
हालसम्मको कुल अनुमतिपत्रको अवस्था
विभागले हालसम्म जलविद्युत्तर्फ १२ हजार ३ सय ३६ मेगावाट क्षमताका २ सय ६४ आयोजनालाई उत्पादन अनुमतिपत्र दिइसकेको छ। सौर्य ऊर्जातर्फ ७४.६ मेगावाट क्षमताका १० वटा आयोजनालाई अनुमति जारी गरिएको छ।
प्रसारण लाइनतर्फ ४०० केभीका १ हजार ९७ सर्किट किलोमिटर, २२० केभीका ६ सय ५६ सर्किट किलोमिटर र १३२ केभीका १ हजार ६ सय ८ सर्किट किलोमिटर निर्माण अनुमति दिइएको छ।
यस्तै ३३ केभी क्षमताको ३ सय ३७ सर्किट किलोमिटर बराबरका आयोजनाले निर्माण अनुमति पाएको विभागकी महानिर्देशक मनदेवी श्रेष्ठले बताइन्।


