इङल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौं । सनसनीपूर्ण सेमिफाइनल खेलमा इङल्याण्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले खेलको अन्त्यतिर २ गोल हानेर जित निकालेको हो । अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेपछि इंग्ल्यान्ड मर्माहत बन्न पुग्यो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलोपटक पुरुष विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा थियो। खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएपछि टोली फाइनल पुग्ने दिशामा ढुक्क देखिएको थियो। तर डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले हार मानेन। खेल सकिन ५ मिनेट बाँकी छँदा एन्जो फर्नान्डेजले मेसीकाे पासमा २० यार्ड टाढाबाट प्रहार गरेको सानदार गोलमार्फत खेल बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई फेरि एकपटक ऐतिहासिक जित दिलाए। यस जितसँगै अर्जेन्टिनाले विश्वकप सेमिफाइनलमा आफ्नो अपराजित यात्रा (६ मा ६ जित) कायम राखेको छ। कप्तान लिओनल मेसीले गोल नगरे पनि उनका दुईवटा महत्वपूर्ण ‘असिस्ट’ खेलको निर्णायक मोड बने। खेल सकिएपछि मैदानमा भावुक दृश्य देखियो— मेसीका आँखामा खुसीका आँसु थिए भने इंग्ल्यान्डका खेलाडीहरू हारको पीडाले छटपटाइरहेका थिए। अर्जेन्टिना भने लगातार दोस्रोपटक विश्वकपको उपाधि उचाल्ने दाउका साथ आइतबार न्युजर्सीको मैदानमा स्पेनसँग भिड्नेछ। फ्रान्सलाई हराएर फइनल पुगेकाे स्पेन र अर्जेन्टिनाबीचकाे फाइनल थप राेचक हुनेछ । जहाँ मेसी र लामिन यामलमाथि सबैकाे आँखा हुनेछ ।

