कांग्रेस उपसभापति र महामन्त्रीमा यी ६ नेता विजयी,आउट भएकाले अब के गर्छन ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित भएका हुन् । महामन्त्रीको दुई खुला पदमा पौडेल र राणा तथा एक महिला पदमा संग्रौला निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उपसभापतिमा निर्वाचित भण्डारीले ३ हजार ७ सय ३५, आचार्यले २ हजार ३ सय ४२ र चौधरीले १ हजार ७ सय ४५ मत प्राप्त गरे । महामन्त्रीमा निर्वाचित पौडेलले ४ हजार १ सय ९४, राणाले २ हजार ३ सय ३० र संग्रौलाले ३ हजार १ सय १८ मत पाए । आचार्यले तेस्रो स्थानमा रहेका गोविन्द भट्टराईभन्दा ५ सय ९० मत बढी पाए । भट्टराईले १ हजार ७ सय ५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६ सय ७३, धनराज गुरुङले १ हजार ५ सय ९६, दीपक गिरीले ९ सय २३ र चन्द्रमोहन यादवले ७ सय ६० मत पाए । समावेशी उपसभापतिमा चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गरे । परियारले १ हजार ६ सय ५८, फरमुल्लाह मन्सुरले १ हजार १ सय ४४, सीता गुरुङले १ हजार १ सय १२ र रञ्जित कर्णले ५ सय ६२ मत प्राप्त गरे । महामन्त्रीको खुला प्रतिस्पर्धामा राणासँग निकटतम प्रतिस्पर्धी रहेका सुनिल शर्माले २ हजार २ सय ५७ मत प्राप्त गरेका छन् । राणाले २ हजार ३ सय ३०मत प्राप्त गरेका थिए। तत्कालीन महामन्त्री समेत रहेका गुरुराज घिमिरेले १ हजार ५ सय १३, नैनसिंह महरले १ हजार १ सय ३४, अमरसिंह पुनले १ हजार १ सय २५, शंकर तिवारीले १ सय २३ र सन्तोष उपाध्यायले ९७ मत पाए । महिला महामन्त्रीमा संग्रौलाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई २ सय ५४ मतले पराजित गरिन् । संग्रौलाले ३ हजार १ सय १८ मत प्राप्त गर्दा उपाध्यायले २ हजार ८ सय ६४ मत पाइन् । रीता खनालले ८ सय ४ मत प्राप्त गरिन् । विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल नियमित महाधिवेशनबाट पनि सोही पदमा निर्वाचित भएका छन् । उनले खुला प्रतिस्पर्धामा ४ हजार १ सय ९४ मत प्राप्त गरे । पौडेल १४औं महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । त्यतिबेला दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा पौडेल पराजित भएका थिए । त्यसपछि पार्टीभित्रको नेतृत्व परिवर्तनको प्रक्रियामा थापा नेतृत्वसँग नजिकिएका उनी विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए । राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । उनी यसअघि देउवानिकट नेताका रूपमा चिनिन्थे । तर, विशेष महाधिवेशनको प्रक्रियामा उनी थापा नेतृत्वसँग जोडिएका थिए । नियमित महाधिवेशनमा महामन्त्री पद मा उनको पदोन्नति भएको छ । महामन्त्रीको खुला प्रतिस्पर्धामा राणा निकटतम प्रतिस्पर्धी शर्माभन्दा ७३ मतले अगाडि रहे । विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज घिमिरे भने १ हजार ५ सय १३ मतसहित प्रतिस्पर्धीमध्ये चौथो स्थानमा रहे । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुन पनि पराजित भए । महिला महामन्त्रीमा संग्रौला र उपाध्यायबीच प्रतिस्पर्धा भएको थियो । विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी संग्रौला यसअघि देउवानिकट थिइन् । पार्टीको विशेष महाधिवेशन मा नै उनी थापा नेतृत्वसँग नजिकिएकी थिइन् । १४औं महाधिवेशनमा सहमहामन्त्री निर्वाचित उपाध्यायलाई पराजित गर्दै संग्रौलाले कांग्रेसको इतिहासमा पहिलो महामन्त्रीको नाम लेखाएकी छिन्। उपाध्याय महाधिवेशनको मुखमा पूर्व सभापति शेरबहादुर देउवापक्ष छाडेर पार्टीको मूलधारमा आएकी थिइन् । देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला उपाध्यायको नेतृत्वमा झन्डै ५० भन्दा बढी देउवा समितिका पदाधिकारी तथा सदस्यहरू महाधिवेशनको अन्तिम समयमा मूलधारमा जोडिएका थिए । देउवानिकट उनीहरू समानान्तर गतिविधि छाडेर पार्टीको मूलधारमा आएका थिए । यस परिणामले देउवा पक्षबाट गयका धेरै नेता पराजित भएका छन।अब उनीहरुको बिकल्प देउवा नै हुनेछन् ।

