काठमाडाैं । बुढीगण्डकी नदीको बहाव अत्यधिक बढेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएपछि बुढीगण्डकी नदीको बहाव बढेको छ । आइतबार बिहान करिब ४ बजेदेखि उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ भागेका छन् । चुमनुब्री गाउँपालिका–६ र ७ भएर बग्ने यी खोलामा ठूलो आवाजसहित पानी बगेको स्थानीयले बताएका छन् । लोक्पाका स्थानीय शेराप गुरुङका अनुसार केहीबेर खोला रोकिने र फेरि बग्ने आवाज सुनिएको थियो । ‘अँध्यारो भएकाले खोला थुनिएको हो वा पहिरो खसेको हो भन्ने केही थाहा छैन । पानी पनि परेको छैन,’ गुरुङले भने । उग्युलुङ र स्यार खोला बुढीगण्डकी नदीका सहायक खोला हुन् । यी खोलामा पानीको बहाव बढेपछि बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दासमेत घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् । चुम्लिङ र लोक्पालगायत स्थानमा स्थानीयसँगै होटलमा बसेका पर्यटक पनि भागाभाग भएको छ । यसैबीच, इलाका प्रहरी कार्यालय आरुघाटले सावधानी अपनाउन सूचना जारी गरेको छ ।