बढ्न थाल्यो घरजग्गा कारोबारः असारमा साढे ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

गत असार महिनामा मात्रै घरजग्गा कारोबारबाट १२ अर्ब नजिक राजस्व सङ्कलन भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असारमा ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ रुपैयाँ राजस्व दाखिला भएको हो।
कोरोना महामारी र गोरखा भूकम्पपछिको अवधिमा असारको यो सङ्कलन अहिलेसम्मकै उच्च रहेको विभागले जनाएको छ। साउनदेखि पुँजीगत लाभकर बढ्ने बजेटको व्यवस्थाका कारण असारमा कारोबार एकाएक बढेको अनुमान गरिएको छ।
वर्षभरिकै उच्च विन्दुमा असारको कमाइ
आर्थिक वर्ष २०८२/८३ भरिको तथ्याङ्क हेर्दा असारपछि वैशाख महिनामा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ रुपैयाँ सङ्कलन भई दोस्रो स्थानमा परेको छ। चैतमा ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ र पुसमा ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२ रुपैयाँ प्राप्त भएको थियो।
जेठमा ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ र माघमा ५ अर्ब ९९ लाख २४ हजार ५३६ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको विवरणमा उल्लेख छ। मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२ र फागुनमा ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ रुपैयाँ सरकारी खातामा जम्मा भएको थियो।
साउनदेखि असोजसम्म भने सुस्त कारोबार
आवको सुरुवाती महिनाहरूमा भने घरजग्गाको कारोबार तुलनात्मक रूपमा मन्द देखिएको थियो। २०८२ साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ सङ्कलन भएकोमा भदौमा घटेर ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ रुपैयाँमा सीमित बनेको थियो।
वर्षभरिकै सबैभन्दा कम राजस्व असोज र कात्तिक महिनामा उठेको विभागको तथ्याङ्कले देखाउँछ। असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ मात्रै प्राप्त भएको थियो।

