काठमाडौं । काठमाडौँ उपत्यकामा आज शुक्रबार पनि मौसम बदली र वर्षा जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार आज पनि काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना छ। ‘आज बिहानै पनि काठमाडौँ उपत्यकामा पानी परेको थियो, तर अहिले रोकिएको छ। बुढानिलकण्ठतिर छिटपुट पानी परिरहेको देखिन्छ’, आज बिहान सवा ७ बजतिर नेपालखबरसँग उनले भनिन्, ‘अब वर्षा केही समयका लागि रोकिने सम्भावना छ, तर अपराह्न र राति फेरि वर्षा हुने सम्भावना छ।’ मौसमविद् महर्जनका अनुसार काठमाडौँमा विशेषगरी दिउँसो २/३ बजेपछि वर्षाको बढी सम्भावना छ। ‘भोलि र पर्सि वर्षाको सम्भावना अझ बढी छ’, उनलेे भनिन्।