काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। जसका कारण देशभर अधिकांश स्थानमा बादल लागेको छ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ र पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी  र तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।