२० दिने बिदामा न्यायाधीश मल्ल

सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छिन्।
मल्लले आफ्नै अधिकार प्रयोग गरी बिदा स्वीकृत गरेर बुधबारदेखि बिदामा बसेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।
मङ्गलबार नवनियुक्त प्रधानन्यायाधीश शर्मा पदभार ग्रहणका लागि सर्वोच्च अदालत आउनुअघि नै न्यायाधीश मल्लले बिदाको निर्णय गराएकी हुन्। यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीशका रूपमा मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. शर्मालाई सिफारिस गरेपछि न्यायाधीश मल्ल असन्तुष्ट रहेको चर्चा सर्वोच्च वृत्तमा थियो।
सिफारिसको भोलिपल्टै उनले कामु प्रधानन्यायाधीशको हैसियतमा फुलकोर्ट बैठक समेत बोलाएकी थिइन्। उक्त बैठकमा सिफारिसको विषयलाई लिएर न्यायाधीशहरूबीच मतभेद भएपछि डा. शर्मा वैशाख २५ गतेदेखि इजलासमा उपस्थित भएका थिएनन्।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई नियुक्त भएका प्रधानन्यायाधीश शर्माले जिम्मेवारी सम्हालेपछि बुधबारदेखि नै इजलास फर्किएका छन् ।

