समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारीका ठूला ऋणीहरूको नामावली सार्वजनिक गर्न सुरु गरेको छ। समितिका अनुसार पहिलो चरणमा आज १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो।

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल को-अपरेटिभ, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीय संस्थाका ठूला ऋणीहरूको विवरण बाहिर ल्याएको छ।

सूचना जारी गर्दै समितिले सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र ऋण नतिरेमा कानुन बमोजिम कडा कारबाही र असुली प्रक्रिया अगाडि बढाइने समितिले चेतावनी दिएको छ। अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमिक रूपमा प्रकाशित गरिने भएकाले सबै ऋणीहरूलाई समयमै दायित्व पुरा गर्न आग्रह गरिएको छ।