एजेन्सी । इरानी सेनाले दुई अमेरिकी लडाकु विमान खसालेको जनाएको छ। एक देशको दक्षिण–पश्चिम भागमा र अर्को हर्मुज क्षेत्रमा खसालेकाे बताएको छ। इरानी सेनाको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले शुक्रबार आफ्नो वायु प्रतिरक्षा प्रणालीले एउटा एफ–१५ बिमान पूर्णरूपमा नष्ट गरेको बताएको छ। अनि, शुक्रबार नै अर्को अमेरिकी ए–१० विमानलाई हर्मुज क्षेत्रमा खसालेको समेत इरानी सेनाले दाबी गरेको छ। न्युयोर्क टाइम्सले अज्ञात अधिकारीहरूको हवला दिँदै ए–१० का पाइलट दुर्घटनापछि सुरक्षित रहेको जनाएको छ। तर एफ–१५ को चालक दलका कम्तीमा एक पाइलटको अवस्था अझै अज्ञात छ। अमेरिकी सञ्चार माध्यमहरूले विमानका एक सदस्यलाई अमेरिकी सेनाले फेला पारेर उद्धार गरेको तर अर्को अझै बेपत्ता रहेको बताएका छन्। इरानका सरकारी सञ्चार माध्यमहरूले एफ–१५ जेटको भग्नावशेष र प्यारासुटसहितको इजेक्सन सिट जस्तो देखिने तस्बिरहरू सार्वजनिक गरेका छन्। जेट खसालिएपछि इरानी संसदका सभामुख मोहम्मद–बाघेर घालिबाफले ट्रम्पले बारम्बार गरेको युद्ध जितेको दाबीबारे कटाक्ष गरेका छन्। ‘इरानलाई लगातार ३७ पटक हराइसकेपछि, उनीहरूले सुरु गरेको यो ‘रणनीति–विहीन’ उत्कृष्ट युद्ध अब ‘शासन परिवर्तन’ बाट घटुवा भएर ‘ए कसैले हाम्रो पाइलट भेटाउन सक्छ? कृपया?’ मा झरेको छ,’ घालिबाफले सामाजिक सञ्जालमा लेखेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एनबीसी न्युज सँग कुरा गर्दै विमान खसालिएको घटनाले इरानसँग हुने वार्ताको सम्भावनामा असर नपर्ने बताएका छन्। ‘होइन, बिलकुलै होइन। होइन, यो त युद्ध हो। हामी युद्धमा छौँ,’ उनको भनाइ छ। लडाकु विमान खसालिएको बारे पेन्टागन र अमेरिकी केन्द्रीय कमाण्डबाट भने कुनै प्रतिक्रिया आएको छैन।