काठमाडौं । इरानमा ५६ वर्षीय मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन भएका छन् । उनि हालै अमेरिकी र इजरायली सैन्य कारबाहीमा मारिएका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुन् । 

इरानको विशेषज्ञ सभाले मोजतबालाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेको हो । चयनको घोषणालगत्तै इरानको रिभोलुसनरी गार्ड्स ले उनिप्रति बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।

न्यायपालिकाका प्रमुख घोलामहोसेन मोहसेनी एजेईले उक्त निर्णयलाई ‘आनन्द र आशाको स्रोत’ बताएका छन् भने वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले नयाँ नेतृत्व पूर्ण रूपमा कानुनी प्रक्रिया अनुसार चयन भएको दाबी गरेका छन् ।

तर इजरायलले भने सम्भावित उत्तराधिकारीलाई पनि निशाना बनाउन सकिने चेतावनी दिइसकेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ नेतृत्वले अमेरिकाबाट समर्थन नपाए लामो समय टिक्न नसक्ने टिप्पणी गरेका छन् । अमेरिका र इजरायलले मोजतबा खामेनीको नेतृत्व अस्वीकार गर्ने संकेत दिएका छन् ।

इजरायलतर्फ क्षेप्यास्त्र प्रहार

नयाँ सर्वोच्च नेताको घोषणालगत्तै इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको सरकारी प्रसारण संस्था आइआरआइबीले जनाएको छ । उक्त आक्रमणमा एक महिला घाइते भएको चिकित्सकहरूले बताएका छन् ।

जवाफमा इजरायली सेनाले मध्यइरानका ‘शासनसम्बन्धी पूर्वाधार’ लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको जनाएको छ ।
अमेरिका–इजरायल र इरानबीच करिब १० दिनदेखि जारी युद्ध झन् व्यापक बन्दै जाँदा मध्यपूर्वका विभिन्न देशमा आक्रमण, प्रतिआक्रमण र कूटनीतिक गतिविधि तीव्र भएका छन् ।

खाडी क्षेत्रमा आक्रमण, ३२ घाइते

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार सित्रा टापुमा रातभर भएको इरानी ड्रोन आक्रमणमा ३२ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये बच्चासहित चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कतारको राजधानी दोहामा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार वायु प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र आक्रमण रोकेको छ ।

साउदी अरेबियामा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएको त्यहाँका नागरिक सुरक्षा अधिकारीले बताएका छन् ।

युद्धको असर अर्थतन्त्रमा

युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा डब्लुटिआई र ब्रेन्ट दुवैको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

युद्ध सुरु भएयता डब्लुटिआई करिब ७५ प्रतिशत र ब्रेन्ट ६० प्रतिशतभन्दा बढी बढेको छ । तेलको मूल्य वृद्धि भएपछि दक्षिण कोरिया र जापानका सेयर बजारमा पनि गिरावट देखिएको छ ।

कूटनीतिक पहल

यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग टेलिफोन वार्ता गर्दै खाडी क्षेत्रका अन्य देशमा आक्रमण नगर्न आग्रह गरेका छन् । युद्ध सुरु भएयता पेजेस्कियानसँग कुनै पश्चिमी नेताले गरेको यो पहिलो सार्वजनिक सम्पर्क हो ।