काठमाडौं । अमेरिकाले इरानमाथि गत शनिबारदेखि आक्रमण सुरु गरेयता करिब दुई हजार निशानामा प्रहार गरेको दाबी गरेको छ। अमेरिकी सेनाको मध्य कमान्डका अनुसार त्यसक्रममा एउटा पनडुब्बीसहित १७ वटा इरानी पानीजहाज नष्ट गरिएको छ। मध्य कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले एक भिडिओ सन्देशमा भनेका छन्, ‘यस अभियानमा ५०,००० भन्दा बढी सैनिक, २०० लडाकु विमान, दुईवटा विमानवाहक पोत तथा अमेरिकाबाट आएका बमवर्षक विमानहरू सहभागी छन्।’ उनले यसलाई एक दशकयताकै सबैभन्दा ठूलो अमेरिकी सैन्य जमघट भएको पनि उल्लेख गरे। एडमिरलका अनुसार सन् २००३ मा इराकमाथि सुरुवाती चरणमा गरिएको बमबारीको तुलनामा यसपटक इरानमाथि अमेरिका र इजरायलले झन्डै दोब्बरको आक्रमण गरेका छन्। ‘हामीले इरानका हवाई प्रतिरक्षा प्रणालीलाई निकै कमजोर बनाएका छौं र इरानका सयौं ब्यालिस्टिक क्षेप्यास्त्र, प्रक्षेपण यन्त्र तथा ड्रोनहरू नष्ट गरेका छौं,’ कुपरले भने।