पाकिस्तान–अफगानिस्तान युद्धः कस्तो छ अवस्था ?

एजेन्सी । पाकिस्तानले अफगानिस्तानका विभिन्न प्रान्तमा हवाई आक्रमण गरेको जनाएको छ। पछिल्ला घटनाक्रमसँगै दुई देशबीचको अवस्था युद्धसरह बनेको बताइएको छ। पाकिस्तानी वायुसेनाले काबुलसहित विभिन्न क्षेत्रमा पुनः आक्रमण गरेको दाबी गरिएको छ भने तालिबानले इस्लामावादको फैजाबाद सैन्य ठेगानासहित महत्त्वपूर्ण स्थानलाई निशाना बनाएको जनाएको छ। संघर्षको सुरुवात बिहीबार रातिदेखि भएको बताइएको छ। २२ फेब्रुअरीमा भएको पाकिस्तानी हमलाको जवाफमा अफगानिस्तानले कारबाही गरेपछि अवस्था थप चर्किएको हो। टोलो न्यूजका अनुसार तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले ५५ पाकिस्तानी सैनिक मारिएको दाबी गरेका छन्। जवाफस्वरूप पाकिस्तानले ‘गजब लिल हक’ नामक सैन्य अपरेसन सुरु गर्दै काबुलसहित विभिन्न प्रान्तमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानको दाबीअनुसार २७४ अफगान लडाकु मारिएका छन् भने ४०० भन्दा बढी घाइते भएका छन्। दुवै पक्षबाट गरी ३०० भन्दा बढीको मृत्यु भएको उल्लेख गरिएको छ। अफगान मिडिया रिपोर्टअनुसार तालिबानी लडाकुले एक पाकिस्तानी जेट खसालेको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि भएको छैन। अफगान पक्षले २३ पाकिस्तानी सैनिकको शव आफ्नो नियन्त्रणमा रहेको जनाएको छ। पाकिस्तानी सेनाको एक मुख्यालय र १९ चौकी कब्जा गरिएको दाबी पनि गरिएको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अब दुई देशबीच खुला युद्ध सुरु भएको बताएका छन्। अफगानिस्तानका सेना प्रमुख फसीहुद्दिन फितरतले पाकिस्तानले फेरि आक्रमण गरे अझ कडा जवाफ दिइने चेतावनी दिएका छन्। टोलो न्यूजका अनुसार भविष्यमा हुने कुनै पनि हमलाको प्रतिक्रिया पहिलेभन्दा सख्त हुने उल्लेख गरिएको छ। पाकिस्तानी सेनाको मिडिया विङका निर्देशक अहमद शरीफ चौधरीले २७४ तालिबान लडाकु मारिएको र ४०० भन्दा बढी घाइते भएको दाबी गरेका छन्। साथै, ११५ ट्यांक, बख्तरबन्द गाडी तथा तोप ध्वस्त पारिएको उल्लेख गरिएको छ। पाकिस्तानले अफगानिस्तानभित्र सैन्य अपरेसन जारी रहेको जनाएको छ। प्रवक्ताका अनुसार यो कारबाही प्रधानमन्त्रीको आदेशमा भइरहेको हो। अलजजीरासँग कुरा गर्दै जरगुन नामका एक अफगान नागरिकले बिहीबार राति आफ्नो क्याम्पमा आक्रमण भएपछि मानिसहरू परिवारसहित भाग्न थालेको बताएका छन्। धेरैले सामान छाडेर भागेका र केही बालबालिका बेपत्ता भएको उल्लेख गरेका छन्। उनका अनुसार तीनदेखि चारजना घाइते भएका छन्। अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी संघर्ष अन्त्य गर्न पाकिस्तानसँग वार्ता गर्न तयार रहेको बताएका छन्। उनले मिडियासँग भने, ‘हामी पहिले पनि भन्दै आएका थियौँ कि समस्याको समाधान शान्ति र वार्ताबाट हुनुपर्छ । अहिले पनि हामी यही चाहन्छौँ ।’ उनले पाकिस्तान वार्तामा गम्भीर नभएको आरोप समेत लगाएका छन्। उनका अनुसार पाकिस्तानी जासुसी विमानहरू अझै अफगान हवाई क्षेत्रमा उडिरहेका छन्।

