काठमाडौं । आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकपको समूह सी मा नेपालले आफ्नो तेस्रो खेलमा आज वेष्ट इण्डिजसँग खेल्दैछ। मुम्बईको वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार आइतबार बिहान सवा ११ बजे सुरु हुनेछ। इटालीसँगको स्तब्धपूर्ण हारपछि अब नेपाली टोलीको अगाडि विश्वकपको सबैभन्दा कठिन चुनौती खडा भएको छ। वेष्ट इण्डिज अन्तिम खेल अगाडिनै सुपर एट पुग्ने लक्ष्यमा रहँदा नेपाललाई भने झिनो सम्भावना बनाउन पनि यो खेल जित्नै पर्ने दबाब छ लगातार २ हारपछि सुपर एट पुग्ने सम्भावना जटिल बनेको नेपाललाई झिनो आशा कायम राख्न पनि यो खेल जित्नै पर्ने दबाब छ। पराजित भएको खण्डमा नेपाल अन्तिम खेल अगाडीनै समूह चरणबाटै बाहिरिने पक्का छ। पहिलो खेलमा इङ्ल्याण्डविरुद्ध ४ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद दोस्रो खेलमा १० विकेटको हारले नेपालको ब्याटिङ र बलिङ दुवै पक्षमा ठूलो प्रश्न चिन्ह छ। इटालीविरुद्ध कुनै पनि विकेट लिन नसक्नु र ब्याटिङमा १२३ रनमै समेटिनुले टोलीको आत्मविश्वासमा धक्का पुगेको छ। यस्तोमा कप्तान रोहित पौडेल बिरामी परेका छन्। उनलाई ज्वरो र पेटको समस्याले खेल्ने नखेल्ने टुंगो लागेको छैन। यता दुई पटकको विश्व विजेता वेष्ट इण्डिज सानदार लयमा छ। उसले स्कटल्याण्डलाई ३५ रन र विश्कपकै बलियो दाबेदार इङ्ल्याण्डलाई ३० रनले हराउँदै सुपर एटको सम्भावना बलियो बनाइसकेको छ। एक हारले नेपालको विश्वकप यात्रा टुंगिन्छ। वेस्ट इन्डिज अहिले उत्कृष्ट लयमा छ। शारीरिक शक्ति र रणनीतिक सन्तुलन दुवै मिल्नु वेस्ट इनडिजको राम्रो पक्ष हो। शिमरन हेटमायरको आक्रामक शैली गजबको देखिएको छ। इंग्ल्यान्डविरुद्ध शेर्फान रदरफोर्डले प्रहार गरेको नटआउट ७४ रनले नेपाली बलरहरूलाई चुनौती दिने निश्चित छ। वेस्ट इन्डिजसँग रोभम्यान पावेल र जेसन होल्डर जस्ता ठूला सट खेल्न सक्ने ब्याटर छन्। वेस्ट इन्डिजको ब्यटिङ मात्र होइन बलिङ पनि उत्तिकै घातक छ। अकिल हुसेन, गुडाकेश मोती र रोस्टन चेसको स्पिनले इंग्ल्याण्डलाई निकै समस्यामा पारेको थियो। वानखेडेको बिहानी खेलमा यो स्पिन जोडी फेरि पनि निर्णायक हुन सक्छ। तीव्र गतिका बलर शेमार जोसेफसँगै रोमरियो शेफर्ड (जसले यसै प्रतियोगितामा ह्याट्रिक र ५ विकेट लिइसकेका छन्) नेपालका लागि खतरा हुन्। यी बलरविरूद्ध नेपाली ब्याटर कसरी खेल्छन् त्यो नै नेपालको नजितालाई असर गर्नेछ। इटालीसँगको १० विकेटको नमीठो हारपछि अहिले नेपाल दबाबमा छ। अंकबिहीन नेपालको ‘नेट रन रेट’ मा ठूलो धक्का पुर्‍याएको छ। अब वेस्ट इन्डिजविरूद्ध उत्कृष्ट खेल्न नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी चल्न जरुरी छ। कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले मध्यक्रम सम्हाल्नुपर्नेछ भने अन्त्यमा लोकेश बमसँगै गुलशन झा र करण केसीको विष्फोटक ब्याटिङको खाँचो छ। बलिङमा नेपालको सबैभन्दा ठूलो भरोसा सन्दीप लामिछाने नै हुन्। उनलाई नन्दन यादवको गति र ललित राजवंशी स्पिनले साथ दिनु पर्नेछ। ललितको स्थानमा शेर मल्ललाई ल्याएर रणनीति बदल्न सकिनेछ। गत सेप्टेम्बरमा युएईको शारजाहमा वेस्ट इन्डिजको दोस्रो रोजाइको टोलीलाई नेपालले टी-२० सिरिजमा २-१ ले हराएको थियो। त्यसले नेपाली टोलीलाई आत्मविश्वास दिए पनि सो टोलीका दुई खेलाडी मात्र अहिले विश्वकप टोलीमा छन्। त्यतिबेला युवा खेलाडीलाई मौका दिएको वेस्ट इन्डिजमा अहिले अनुभवी खेलाडी छन्। त्यतिबेला खेलेका अकिल हुसेन र जेसन होल्डर मात्र अहिले विश्वकप खेलिरहेका छन्। विश्वकपमा कुनै पनि टोलीलाई पुरान इतिहास र रेकर्डले कुनै अर्थ राख्दैनन्। मैदानमा उत्कृष्ट खेल र विपक्षीलाई दबाबमा राख्नुपर्छ।