हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले माघ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ४.६८४५ प्रतिशत निर्धारण गरेका छन्। यो पुस महिनाको तुलनामा ०.१४९५ प्रतिशतविन्दुले कम हो। पुसमा यो औसत ४.८३४ प्रतिशत थियो।
बैंकहरूमा तरलता बढी भएकाले निक्षेपकर्तालाई आकर्षित गर्न आवश्यकता कम हुँदा ब्याजदर घटाइएको हो। माघ महिनाका लागि २० बैंकमध्ये ११ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। जसका कारण समग्र औसत ब्याजदरमा कमी आएको छ।
ब्यजदर घटाउने बैंकहरूमा हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। यीमध्ये हिमालयन बैंक र माछापुच्छ्रे बैंकले सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुका दरले ब्याजदर कटौती गरेका छन्।
यता, एक बैंकले भने ब्याजदर बढाएको छ। पुस महिनामा सबैभन्दा कम अधिकतम ब्याजदर (४.२५ प्रतिशत) दिने प्राइम कमर्सियल बैंकले माघका लागि ४.४ प्रतिशत पुर्याएको छ। यसले ०.१५ प्रतिशतविन्दुको वृद्धि गरेको हो।
संस्थागत मुद्दति निक्षेपतर्फ पनि अधिकतम औसत ब्याजदर घटेको छ। यो महिनामा औसतमा ०.०६२५ प्रतिशतविन्दुले कमी आएको छ। ४ बैंकले मात्र संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकले पुसकै दरलाई निरन्तरता दिएका छन्।


