बाजुरामा बेरोजगारीले रित्याउँदै गाउँ

बाजुरामा बेरोजगारीले रित्याउँदै गाउँ

बाजुरा । बेरोजगारीका कारण बाजुराका अधिकांश गाउँ–बस्ती रित्याउँदै गएका छन् । गाउँमा काम नपाएपछि स्थानीयहरू दिनानुदिन रोजगारीको खोजीमा भारततर्फ पलायन बढेपछि गाउँ सुनसान हुन थालेका हुन् ।

बुढीगंगा नगरपालिका–१ का स्थानीय श्याम विक अहिले पनि भारतमै मेहनत मजदुरी गर्न जाने तयारीमा छन् । “पढे–लेखेकालाई समेत गाउँमा रोजगारी छैन, हामीजस्ता नपढेका कहाँबाट नोकरी पाउँछौँ ?” विक भन्छन्, “मेरो बुवाले पनि भारतमै काम गरेर हामीलाई पालनपोषण गर्नुहुन्थ्यो । अहिले म पनि त्यही बाटो पछ्याउँदै परिवार धानिरहेछु।”

पहिले गाउँमै केही गरेर खान सकिने काम पाइने विश्वास भए पनि अहिले अवसर झन् खुम्चिँदो गएको उनीहरूको अनुभव छ। “गाउँमा केही काम नमिलेपछि जिवनभर भारतकै भरमा गुजारा चलाउनुपर्ने अवस्था आयो,” विकले थपे।

बाजुराका अधिकांश परिवारको गुजारा भारतमा कमाइ गर्ने सदस्यकै भरमा चल्ने गरेको छ। युवायुवतीले प्रायः बालबच्चा घरमै छोडेर रोजगारका लागि भारत जाने गरेका छन्। विगतमा कात्तिक–मंसिरमा गहुँ रोप्ने र असारमा धान–कोदो लगाउने बेला मात्र गाउँ फर्कने चलन थियो। अहिले भने खेतीप्रति चासो घट्दै गएपछि चाडपर्व मनाउन गाउँ आउने र फेरि भारततिर फर्कने प्रवृत्ति बढेको छ। माघमा माघी, चैत–वैशाखमा वीसु, र असोज–कात्तिकमा दशैं–तिहार मनाउन मात्र गाउँ फर्कने परम्परा नै जस्तो बनेको स्थानीय बताउँछन्।

गाउँमै रोजगारीका धेरै सम्भावना हुँदाहुँदै पनि सिँचाइको अभाव, उत्पादनमा गिरावट र सरकारी बेवास्ताका कारण खेतीपाती आकर्षक नबनेको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार स्थानीय तहले कृषि जस्ता आधारभूत सुविधा विस्तारमा ध्यान दिएको भए गाउँ छोड्ने अवस्था कम हुन सक्थ्यो।

भदौ–असोजमा गाउँ प्रदेशीहरूले भरिभराउ देखिए पनि कात्तिक–मंसिर लागेपछि फेरि भारत जाने लहर सुरु हुन्छ। केही दिन चहलपहल देखिने गाउँ फेरि सुनसान बन्छन्।

बेरोजगारी मात्र होइन, पहिरो र प्राकृतिक विपत्तिको जोखिमले पनि हालका वर्षहरूमा गाउँबस्ती झनै रित्याइरहेको छ। पहिरोले गाउँ–बस्ती तहस–नहस पारेपछि धेरै परिवार बसाइँ सर्न बाध्य भएका छन्। बुढीगंगा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र बुढीनन्दा नगरपालिका क्षेत्रका धेरै गाउँ अहिले खाली–खाली बन्दै गएका छन्।

युवाले गाउँमै काम पाउन नसक्नु अर्को ठूलो कारण बनेको छ। निर्माण तथा विकासका काममा ठेक्का प्रणाली हावी हुन्छ, ठेकेदारले बाहिरबाट सस्तो मजदूर ल्याउँछन्। गाउँमा हुने काममा डोजर केन्द्रित प्रविधि प्रयोग हुँदा स्थानीय श्रमको उपयोग कम हुन्छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमजस्ता योजना भए पनि सीमित युवाले मात्र लाभ पाएको स्थानीयहरूको भनाइ छ।

बुढीगंगा–१ का वडाअध्यक्ष रणबहादुर थापाका अनुसार “युवालाई गाउँमै रोक्ने खालको दिगो रोजगारको व्यवस्था हुन सकेन। रोजगारी नपाएर धेरै युवा भारततिर हिंड्न बाध्य छन्।” २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन्। कुल जनसंख्या एक लाख ३८ हजार ५२३ रहेको जिल्ला अहिले तीव्र रूपमा युवा–विहीन बन्दै गएको देखिन्छ।