उद्योगीहरूले ट्रंक तथा डेडिकेटेड महशुलको किस्ता तिर्न चेक काटेर बसेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरूले यस्तो जानकारी दिएका हुन् ।

सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रंक तथा डेडिकेटेड महशुलको विवाद समाधान गर्न महासंघले निरन्तर पहल गरिरहेको बताए ।

यसअघि पनि पटकपटक उद्योगहरूको विद्युत् लाइन काट्ने गरिएको र महासंघकै पहलमा लाइन जोड्ने काम भएको उनले स्मरण गरे ।

नेपाल सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष ध्रुव थापाले मध्यमार्गी प्रस्ताव कार्यान्वयन गर्न र सम्बन्धित निकायले यो सर्तअनुसार महशुल तिर्न चेक काटेर बसेको बताए ।

उनले यो मुद्दा दीर्घकालीन रूपमा विवाद समाधान गर्ने दिशामा अघि बढेको उल्लेख गरे । वर्तमान जटिल परिस्थितिमा विवादित रकमको २८ किस्तामध्ये एक किस्ता धरौटीका रूपमा बुझाएर पुनरावलोकनमा जाने बाटो खुलेको उनको भनाइ छ । मध्यमार्गी प्रस्तावमा सरकारी निकायसँग सहमति जुटाउन निकै कसरत गर्नुपरेको उनले खुलाए ।

त्यस्तै, सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सरकारले उपयोग भएको विद्युत्को स्पष्ट प्रमाण नदिँदा विवाद निरुपण हुन नसकेको बताए ।