काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध ५० प्रतिशतसम्मको नयाँ आयात शुल्क (ट्यारिफ) लागू गरेका छन् । यस कदमले करिब ६० अर्ब अमेरिकी डलर बराबरको भारतीय निर्यातमा प्रत्यक्ष असर गर्ने अनुमान गरिएको छ।

अमेरिकी कदमपछि भारतभित्र राजनीतिक तथा व्यावसायिक तहमा चर्को बहस सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भने तत्काल प्रतिक्रिया दिँदै घरेलु उद्योग र उपभोक्तालाई सहयोग पुर्‍याउने उद्देश्यले कर कटौती र वस्तु तथा सेवा कर (GST) प्रणालीलाई सहज बनाउने घोषणा गरेका छन्।

पूर्व राजदूत हर्षवर्धन स्रिंगलाले भारतले अब वैकल्पिक बजारतर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार, अमेरिकी बजारमा निर्भरता कम गरी दक्षिण–पूर्व एशिया, अफ्रिका र यूरोपतर्फ निर्यात विस्तार गर्ने रणनीति अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।

उद्योग क्षेत्रका विज्ञहरूले भारतको आर्थिक आधार बलियो रहेको र साना तथा मध्यम उद्योग (MSME) हरूलाई संरक्षण गर्दै दीर्घकालीन रणनीति अपनाउनुपर्ने सुझाव दिएका छन्। उनीहरूले विश्वव्यापी साझेदारीमार्फत भारतले नयाँ अवसर खोज्न सक्ने विश्वास पनि व्यक्त गरेका छन्।