काठमाडौं, पहिचान मिडिया
हाइड्रो शेयर बिक्री घोटाला प्रकरणमा मुछिएकी ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ शीतल (पिँकी) र पीडितबीच काठमाडौं जिल्ला प्रहरी परिसरमा भएको पछिल्लो छलफल निष्कर्षविहीन बनेको छ।

२०७४ सालमै विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीको रसिद देखाएर रकम संकलन गरेको आरोप लागेकी पिँकी सोमबार दिउँसो ३ बजे प्रहरी परिसरमा उपस्थित भएकी थिइन्। उनीसँगै सोसाइटीका सदस्य तथा वकिलसहित इनर्जी इन्जिनियरिङ कम्पनीका म्यानेजर जितमान शेर्पा पनि सहभागी थिए।

रकम फिर्ता माग, तर प्रमाण देखाउन नसके

छलफलमा पीडितहरूले आठ वर्षअघि बुझाएको रकम फिर्ता गर्न माग गर्दा पिँकी पक्षले उल्टै “के प्रमाण छ पैसा बुझाएको?” भन्दै प्रतिवाद गर्‍यो। यस क्रममा दुवै पक्षबीच लामो समयसम्म नोकझोक भयो।

उजुरीकर्ता दुई जना भए पनि छलफलमा झण्डै ५० जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक सदस्यको रकम डुबेको खुलासा भयो। कतिपयले नक्कली प्रमाणपत्र देखाइएको, किर्ते हस्ताक्षर गराइएको भन्दै आरोपसमेत लगाए।

बैंकमा जम्मा रकम २ हजार मात्र

पिँकीले रकम विवेकशील आदर्शमार्फत संकलन गरेर इनर्जी इन्जिनियरिङ कम्पनीमा ट्रान्सफर गरेको बताइन्। तर जब पीडितहरूले बैंक विवरण खोजे, भिभोर विकास बैंकमा उनको खातामा जम्मा २ हजार रुपैयाँ मात्र फेला परेको प्रहरीले पुष्टि गर्‍यो। यसपछि छलफल थप तनावपूर्ण बन्यो।

पीडितहरूको आक्रोश

पीडितहरूले “हामी सिधा–साधा समुदायका सदस्य हौँ, पसिना बगाएर कमाएको रकम हो, यसरी अनियमितता स्वीकार्य छैन” भन्दै आक्रोश व्यक्त गरे। पिँकीले आफू पनि पीडित भएको दाबी गर्दा पीडितले प्रतिप्रश्न गरे–“पीडित थियौ भने उजुरी किन गरिनौ?” जसको जवाफ उनी दिन नसकी मौन बसिन्।

प्रहरीको सुझाव

प्रहरीले छलफल निष्कर्षविहीन बनेपछि पीडितलाई नजिकको प्रहरी कार्यालयमा किर्ते उजुरी दर्ता गर्न सकिने र पहिले इनर्जी कम्पनीमा गएर शेयरको अवस्था बुझ्न सुझाएको छ।

कागजात उपलब्ध गराउन माग

छलफलपछि पीडितहरूले पिँकीलाई आधिकारिक पत्र पठाउँदै पाँच बुँदामा आवश्यक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन्। तीमा प्रारम्भिक सेयर आवेदनको आधा कट्टी, बैंक जम्मा भौचर, विवेकशील र इनर्जीबीचको सम्झौता पत्र, कम्पनीको दर्ता स्थिति र कार्यालय विवरण तथा सेयर होल्डिङ प्रमाणित गर्ने कागजात पर्छन्।

पीडितहरूले भनेका छन्, “हामी सजिलै कमाउने होइनौँ, पसिना बगाएर जम्मा गरेको रकम हो। प्रमाण नदिएसम्म हामी चुप लागेर बस्दैनौँ।”