उत्तर कोरियाद्वारा नयाँ हवाई रक्षा मिसाइल परीक्षण

प्योङयाङ । उत्तर कोरियाले दुई नयाँ प्रकारका हवाई रक्षा मिसाइलको सफल परीक्षण गरेको जनाएको छ । सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार परीक्षणलाई सर्वोच्च नेता किम जोङ उन स्वयं उपस्थित रही अवलोकन गरेका थिए ।
केसीएनएले ती मिसाइलमा “उत्कृष्ट लडाइँ क्षमता” रहेको र “अद्वितीय प्रविधि” प्रयोग गरिएको जनाएको छ । यद्यपि प्राविधिक विवरण भने सार्वजनिक गरिएको छैन । एजेन्सीले परीक्षणमार्फत यी मिसाइलहरू ड्रोन र क्रूज मिसाइलजस्ता विभिन्न हवाई लक्ष्य नष्ट गर्न सक्षम रहेको प्रमाणित भएको दाबी गरेको छ ।
यसअघि, गत मंगलबार करिब ३० जना उत्तर कोरियाली सैनिकले असैन्यीकृत क्षेत्र (डीएमजेड) पार गरेपछि दक्षिण कोरियाले चेतावनीस्वरूप गोली प्रहार गरेको पुष्टि गरेको थियो। संयुक्त राष्ट्रसंघीय कमान्डका अनुसार ती सैनिक क्षणिक रूपमा सीमा नाघेर पुनः फर्किएका थिए । तर उत्तर कोरियाले दक्षिण कोरियामाथि “जानाजानी उक्साउने गतिविधि” गरेको आरोप लगाएको छ ।
यसैबीच, दक्षिण कोरिया र अमेरिकाले सोमबारदेखि व्यापक सैन्य अभ्यास सुरु गरेका छन् ।

