बेइजिङ, अगस्ट २२ – चीनको राजधानी बेइजिङबाट करिब दुई घण्टाको दूरीमा अमेरिकन पश्चिमी शैली झल्काउने नयाँ आवासीय तथा पर्यटकीय टाउन ‘ज्याक्सन होल’ निर्माण गरिएको छ।

करिब १७० मिलियन अमेरिकी डलर लागतमा बनेको यो टाउनमा काउब्वॉय थिम, चर्च, बार, पश्चिमी शैलीका घर, पार्क तथा फास्टफूड रेस्टुरेन्टहरू समावेश गरिएको छ। परियोजनाले अमेरिकाको वायोमिङ राज्यस्थित प्रसिद्ध शहर ‘ज्याक्सन होल’ बाट नाम लिएको हो।

आवासीय क्षेत्रमा बनेका घरहरू काठ र ढुङ्गाको मिश्रणमा तयार पारिएका छन्। एक घरको मूल्य करिब १ मिलियन अमेरिकी डलर (करिब १ करोड रुपैयाँभन्दा बढी) पर्ने जनाइएको छ।

परियोजनाका सञ्चालकहरूले यस टाउनलाई चीनभित्रै बस्ने नागरिकलाई “अमेरिकन जीवनशैली” को अनुभव दिलाउने उद्देश्यले निर्माण गरिएको बताएका छन्। साथै, यसलाई आन्तरिक पर्यटनको आकर्षण बनाउने योजना पनि रहेको छ।

यसबीच, परियोजनाले मिश्रित प्रतिक्रिया पाएको छ। केहीले यसलाई सांस्कृतिक विविधताको उदाहरण भन्दै स्वागत गरेका छन् भने कतिपयले भने अमेरिकन जीवनशैलीप्रतिको अत्यधिक मोह देखाइएको भन्दै आलोचना गरेका छन्।

श्रोत: The Sun (UK)