अमेरिकाको कदमले भारतसँगै नेपालको अर्थतन्त्रमा पनि पर्नसक्छ असर

ट्रम्पको यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि कूटनीतिक झट्का मानिएको छ। यसअघि वाशिंगटनले मोदीलाई ‘विश्वासिलो रणनीतिक साझेदार’ मानेर स्वागत नगरेको भने होइन । तर, अहिलेको ट्यारिफ कदमले त्यो सम्बन्धमा दरार आएको बुझिन्छ । विश्लेषकहरूले यो आर्थिक कदम मात्र नभई, ट्रम्पको असन्तुष्टि र कूटनीतिक दबाबको सङ्केत पनि भनेका छन् ।
भारतीय निर्यातमा पर्ने असरले दक्षिण एसियाली बजारमा समेत हलचल ल्याउने देखिन्छ। नेपालजस्ता भारतमा अत्यधिक निर्भर मुलुकहरूलाई भारतीय अर्थतन्त्रको झट्काले अप्रत्यक्ष प्रभाव पार्ने निश्चितजस्तै छ। भारतमा मूल्यवृद्धि र व्यापार सन्तुलनमा खलल परेमा, त्यसको असर नेपालमा उपभोग्य वस्तुको आपूर्ति, मूल्य र वैदेशिक व्यापारमा समेत देखिन सक्छ।
भारत–अमेरिका सम्बन्ध चिसिँदा क्षेत्रीय राजनीतिक सन्तुलनमा पनि प्रभाव देखिन्छ । यही बिचमा ट्रम्प मोदीसँग चिढिँदा भारतले भने नयाँ रणनीति सुरुगर्नसक्ने पनि विश्लेषण भइरहेका छन् । त्यो के भने बिग्रिएको चीन–भारत सम्बन्ध यहिबेला सुध्रिन सक्ने अनुमान लगाउन थालिएको छ ।
अमेरिकासँगको खलबलले भारतले चीनसँगको सम्बन्धमा नयाँ सन्तुलन खोज्ने सम्भावना बढेको हो । विश्लेषकहरूका अनुसार भारतले अब संयमित प्रतिक्रिया दिँदै आफ्ना वैकल्पिक साझेदारहरूलाई सक्रिय बनाउन सक्छ । छिमेकको गतिविधि तथा यो अवस्था नेपालले पनि चासोपूर्वक नियाल्नुपर्ने समय हो । व्यापार युद्धबाट अमेरिकी राष्ट्रपति ट्रम्पले रोजगारी र उत्पादनलाई अमेरिकामै फिर्ता ल्याउने, व्यापार घाटा कम गर्ने र अमेरिकी कम्पनीहरूलाई विश्वमा प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य राखिरहेका छन् । उनले शक्तिशालीरुपमा उदाइरहेको चीनमाथि कठोर निर्णय गरिरहेका छन् । ट्रम्प यो ट्यारिफ नीतिको सिकार चीन र भारत मात्रै होइन, प्रविधि उत्पादनले उदाएको एसिया नै सिकार हुने विश्लेषण हुन थालेको छ ।

