मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यो कदम अनुचित, अकारण र तर्कहीन छ ।’ साथै भारतले ऊर्जा सुरक्षाका लागि बजारको अवस्था अनुसार तेल आयात गर्ने स्पष्ट पार्दै, उक्त अमेरिकी निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ ।

ट्रम्पको यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि कूटनीतिक झट्का मानिएको छ। यसअघि वाशिंगटनले मोदीलाई ‘विश्वासिलो रणनीतिक साझेदार’ मानेर स्वागत नगरेको भने होइन । तर, अहिलेको ट्यारिफ कदमले त्यो सम्बन्धमा दरार आएको बुझिन्छ । विश्लेषकहरूले यो आर्थिक कदम मात्र नभई, ट्रम्पको असन्तुष्टि र कूटनीतिक दबाबको सङ्केत पनि भनेका छन् ।

भारतीय निर्यातमा पर्ने असरले दक्षिण एसियाली बजारमा समेत हलचल ल्याउने देखिन्छ। नेपालजस्ता भारतमा अत्यधिक निर्भर मुलुकहरूलाई भारतीय अर्थतन्त्रको झट्काले अप्रत्यक्ष प्रभाव पार्ने निश्चितजस्तै छ। भारतमा मूल्यवृद्धि र व्यापार सन्तुलनमा खलल परेमा, त्यसको असर नेपालमा उपभोग्य वस्तुको आपूर्ति, मूल्य र वैदेशिक व्यापारमा समेत देखिन सक्छ।

भारत–अमेरिका सम्बन्ध चिसिँदा क्षेत्रीय राजनीतिक सन्तुलनमा पनि प्रभाव देखिन्छ । यही बिचमा ट्रम्प मोदीसँग चिढिँदा भारतले भने नयाँ रणनीति सुरुगर्नसक्ने पनि विश्लेषण भइरहेका छन् । त्यो के भने बिग्रिएको चीन–भारत सम्बन्ध यहिबेला सुध्रिन सक्ने अनुमान लगाउन थालिएको छ ।

अमेरिकासँगको खलबलले भारतले चीनसँगको सम्बन्धमा नयाँ सन्तुलन खोज्ने सम्भावना बढेको हो । विश्लेषकहरूका अनुसार भारतले अब संयमित प्रतिक्रिया दिँदै आफ्ना वैकल्पिक साझेदारहरूलाई सक्रिय बनाउन सक्छ । छिमेकको गतिविधि तथा यो अवस्था नेपालले पनि चासोपूर्वक नियाल्नुपर्ने समय हो । व्यापार युद्धबाट अमेरिकी राष्ट्रपति ट्रम्पले रोजगारी र उत्पादनलाई अमेरिकामै फिर्ता ल्याउने, व्यापार घाटा कम गर्ने र अमेरिकी कम्पनीहरूलाई विश्वमा प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य राखिरहेका छन् । उनले शक्तिशालीरुपमा उदाइरहेको चीनमाथि कठोर निर्णय गरिरहेका छन् । ट्रम्प यो ट्यारिफ नीतिको सिकार चीन र भारत मात्रै होइन, प्रविधि उत्पादनले उदाएको एसिया नै सिकार हुने विश्लेषण हुन थालेको छ ।