काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। इलाम जिल्ला स्थित कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले छ, पछिल्लो ३ घण्टामा सिन्धुपाल्चोक जिल्ला स्थित गुम्थांग, बारह्बिसे वर्षामापन केन्द्रमा मघ्य्यम वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने माढी मापन केन्द्रकाे चेतावनी छ ।  सुनसरी र मोरङ जिल्लाको वर्षामापन केन्द्रहरुमा वर्षा भएको र थप हुने देखिएकोले सो क्षेत्र भइ बहने सेउती, बुढी, खेसलिया खोलाहरुमा आकस्मिक बाढी आउन सक्छ, दिउँसो सम्म उच्च सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।  त्यस्तै पछिल्लो १ घण्टामा कास्कीको लुम्ले  र आसपासको क्षेत्रमा भारी बर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले  सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले दिउँसो सम्म उच्च सतर्कता अपनाइराख्न जल तथा माैसम विज्ञान विभागले अनुराेध गरेकाे छ । यस्तो अवस्थामा अलर्ट रहन सुरक्षाकर्मीलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन ।