सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा भीषण पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ। माथिबाट लगातार खसिरहेको पहिरोले खोलामा करिब १५ मिटर अग्लो बाँध बनेको छ।

अहिले पनि पहिरो खस्ने क्रम नसकिएकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जोखिमबारे सूचना जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको विवरणका आधारमा महाशाखाले तटीय क्षेत्रमा बाढीको चेतावनी दिएको हो।

खोला थुनिएर बनेको ड्याम जुनसुकै बेला फुटेर ठूलो विपत्ति आउन सक्ने खतरा बढेको छ। यसबाट हुङ्गा खोला र दुधकोशी नदी आसपासका बस्तीहरू प्रत्यक्ष जोखिममा परेका छन्।

स्थानीय प्रशासन र सुरक्षा निकायले उत्पन्न परिस्थितिलाई नजिकबाट नियालिरहेका छन्। जोखिम क्षेत्रका बासिन्दालाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा जान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।