काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चुलिएपछि नेकपा निकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ। विद्यार्थीहरूले काठमाडौँस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि सडकमै दाउरा बालेर खाना पकाउँदै बिहीबार सांकेतिक विरोध जनाएका हुन्।

पछिल्लो समय ग्यास आपूर्ति सहज हुन नसक्दा सर्वसाधारण र विशेषगरी डेरा गरी बस्ने विद्यार्थीहरू मारमा परेका छन्। ग्यास नपाउँदा चुल्हो नै नबल्ने अवस्था आएकाले सरकारको ध्यानाकर्षण गराउन सडकमै खाना पकाउनुपरेको विद्यार्थीहरूले बताए।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले दाउराको चुलोमा भात तथा गुन्द्रुक-आलु पकाएर त्यहीँ बसेर खाएका थिए। उनीहरूले अविलम्ब ग्यासको आपूर्ति सहज नबनाए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।










