भिजिट भिसा काण्ड छानविन गरिरहेका डिआईजीलाई गृहमन्त्रीले सरुवा गरेपछि रोक्यो अख्तियारले

काठमाडौं । गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न भएको आरोप लागेको भिजिट भिसा प्रकरण छानविन गरिरहेका डिआईजीको गृहमन्त्रालयले नै सरुवा गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको हाे । अबधि नपुगेको भन्दै उनको सरुवा थमौती गरिएको गृह मन्त्रालयले दावी गरेपनि छानविन नसकिएकाले अख्तियारले नै सरूवा गराउन नचाहेकाे स्राेतले जानकारी दिएकाे छ । भर्खरै बढुवा भएर अख्तियार गएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ । यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको पत्र बाहिरिएको थियो । प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगाल र रानालाई रानीपोखरीमा कामकाज गर्नेगरी खटाउने निर्णय गरिएको जानकारी दिए । श्रेष्ठ ६ महिनादेखि अख्तियारमा कार्यरत छन् । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले डीआईजीमा बढुवा गर्ने निर्णय गरेका थिए । छानविन गरिरहेका प्रहरी अधिकारीकाे सरुवा गरेकाे भनेर आलोचना बढेपछि गृहमन्त्री रमेश लेखकले पुनः अर्को निर्णय गरेर श्रेष्ठलाई थमौती गरेका हुन् ।

