काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । सरकारले कार्यावधी बाँकी छँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि विपक्षी दलहरुले त्यसको विरोध गरिरहेका छन् । आज बस्ने संघीय संसदको बैठकमा पनि यसबारे कडा प्रतिकार गर्ने विपक्षी दलहरुको तयारी रहेको एक सांसदले बताए ।  बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउसो १:१५ मा राष्ट्रियसभा बैठक बस्नेछ ।  प्रतिनिधि सभा बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।  उनले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव समेत प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।