अखिल क्रान्तिकारीले बढायो जनमतः उपत्यकामा धेरै जित्ने क्रान्तिकारी

काठमाडौं । केही ठूला क्याम्पसमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेकै विद्यार्थी संगठनहरुका कारण स्ववियु चुनाव स्थगित भएपनि चुनाव भएका क्याम्पसहरुको परिणाम आउने क्रम चलिरहेको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियु चुनाव भएको हो । मतदानमा ६५ प्रतिशत विद्यार्थी सहभागी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । त्रिविका ६२ आंगिकमध्ये २२ क्याम्पस र सम्बन्धन प्राप्त केही क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । जसमध्ये धेरै विद्यार्थी भएको आरआर क्याम्पसमा एमाले अखिलले मतदानको अघिल्लो मध्यरातमा तालाबन्दी गरेको हो भने त्रिचन्द्र, केन्द्रीय क्याम्पस लगायतमा नेविसंघले तालाबन्दी गरेका कारण मतदान हुन सकेन । पाटन संयुक्त क्याम्पसमा एमाले अखिल र नेविसंघको झडपका कारण मतदानको बीचैमा स्थगित हुन पुगेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी करिब ३ सय क्याम्पसमा स्ववियु नेतृत्व छान्न चुनाव भएको छ । अधिकांश क्याम्पसमा मंगलबार मतदान सकिएलगत्तै गणना सुरु भएको थियो । अहिलेसम्मको मत परिणाम अनुसार माओवादी विद्यार्थी संठगन अखिल क्रान्तिकारीले आफ्नो मत सुधार मात्र गरेन उपत्यकामा ह्वात्तै बढाएको देखिएको छ । आंगिक र सम्बन्धन प्राप्त गरी ७० क्याम्पसमा स्ववियु अध्यक्ष जितेको दाबीसहित अनेरास्ववियुले सूची सार्वजनिक गरेको छ । अनेरास्ववियुले भन्दा धेरै क्याम्पसमा स्ववियु अध्यक्ष जितेको दाबी गरेको नेविसंघकाे छ । अखिल क्रान्तिकारीले सूची प्रस्तुत गर्दै ५० भन्दा धेरै क्याम्पसमा स्ववियु अध्यक्ष जितेको बताएको छ । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा भने माओवादीनिकट अखिल क्रान्तिकारीका उम्मेदवार दिवस सापकोटा विजयी बने । सत्तारूढ कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुका उम्मेदवारलाई पराजित गर्दै श्रेष्ठ र सापकोटा विजयी भएका हुन् । आज विहान सार्वजनिक भएको मत परिणाम अनुसार भक्तपुरको सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीले विरासत कायम राखेको छ । सानोठिमीमा क्रान्तिकारीका सभापति नरेन्द्र ठगुन्नाकाे प्यानल जित्न सफल भएकाे छ । जनप्रशासन क्याम्पसमा अनिकेत तिवारी विजयी भएका छन् भने वानेश्वर क्याम्पसमा भुमिराज अधिकारी विजयी भएका छन् । काठमाडौं इन्जिनियरिङ कलेज, कालिकाटीमा अपार पराजुली तथा जनकपुर इनजिनियरिङ क्याम्पसमा क्रान्तिकारीकै प्रकाश पुडासैनी विजयी भएका छन् । पुल्चोकसहित थापाथली इन्जिनियरिङ क्याम्पसमा भने क्रान्तिकारीले सचिव जितेको छ । थापाथलीकाे सचिवमा क्रान्तिकारीका अपार पराजुली विजयी भएका हुन् ।

