अभियान रोकेर फर्किएको माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । तराई मधेश हुलाकी मार्ग केन्द्रीत अभियानमा रहेको माओवादी बीचैमा अभियान स्थगित गरेर काठमाडौं फर्किएको थियो । देशमा विकास भएको राजनीतिक अवस्थाका कारण काठमाडौं फर्कनुपरेको बताएको माओवादीले समसामयीक विषयमा आज छलफल र आवश्यक निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठक बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी बोलाइएको छ । पूर्वनिर्धारित पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किरहेका छन् । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरूले सडकमा सक्रियता बढाए । पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले तराई मधेस जागरण अभियान स्थगित गरी काठमाडौँ केन्द्रित हुने निर्णय गरेको थियो । राजनीतिक अवस्था सहज भएपछि स्थगित गरिएकाे तराइमधेश अभियान फेरि अघि बढाउने माओवादी केन्द्रले जनाएकाे छ ।

