काठमाडाैं । सशस्त्र प्रहरी बलमा वरीयता मिचेर डिआइजीमा बढुवा गरिएको छ। रिक्त रहेका तीन पदमा दुईजना जुनियरलाई बढुवा गरिएको छ।  बिहीबार बसेको गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णु भट्टको बढुवा सिफारिस गरेको हो। सिनियर रहेका कृष्णराज पाठक र मनीष थापा बढुवामा छुटेका छन्।  बढुवा भएका कुँवर र भट्ट सशस्त्र प्रहरीको दोस्रो ब्याचका अधिकृत हुन्। स्टाफ कलेज गरेका पहिलो ब्याचका मनीष थापा बढुवामा यसपटक पनि छुटेका छन्। त्यस्तै, नेपाल प्रहरीबाट स्थानान्तरण भएका पाठक पनि छुटेका छन्।  बढुवा भएका कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भजितीज्वाइँ हुन्। उनकै कारण रिक्त पदमा लामो समयदेखि बढुवा हुन सकेको थिएन।  भानु देउवाका बहिनी ज्वाइँ भएका कारण उनलाई अगाडि ल्याउन सरकारले बीचमा नियमावलीलाई संशोधन गर्‍यो  । संशोधन गर्नबित्तिकै नियमावली कार्यान्वयन भइहाल्यो। यसले सशस्त्रमा राजनीति एकदमै धेरै हाबी भएको देखायो। उनकै ब्याची पाँचजना डीआईजीमा बढुवा भइसकेका छन्। डीआईजी सुरेश श्रेष्ठ, अञ्जनी पोख्रेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी उनकै ब्याची हुन्। प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपी हुँदा भने कुँवर आफ्नो ब्याचको १०औं नम्बरमा आएका थिए। कुँवरका सजिलो हुने गरी सरकारले गरेको यो पहिलो निर्णय होइन। उनकै लागि भनेर कायममुकायम एसएसपीको सूची निकाल्ने कुरा पनि लामो समय रोकिएको छ। सशस्त्रमै भर्ना भएको टोलीका लागि डीआईजी बन्न स्टाफ कलेज अनिवार्य छ। यसअघि तीनपटकमा स्टाफ कलेज पास गरिसकेको हुनुपर्ने व्यवस्था थियो। तर एसएसपी ढकालले तीनपटकमा पनि स्टाफ कलेज पास नगरेपछि उनकै लागि व्यवस्था नै परिवर्तन गरेर ५ पटकसम्म स्टाफ कलेज दिन पाउने व्यवस्था मिलाइएको थियो। त्यसपछि मात्रै ढकाल पास भएका थिए। अहिले डीआईजीमा पनि उनले शक्तिको प्रभाव देखाएका छन्।  १ र २ ब्याचअघिका नेपाल प्रहरीबाट आएका एसएसपी प्रवीण कँडेल पनि डीआईजीमा अटाउन सकेनन्। उनीहरूलाई छुटाएर दोस्रो ब्याचबाट दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा गरिएको हो। गत भदौ १६ गतेदेखि नै सशस्त्र प्रहरीमा दुईजना डीआईजीको दरबन्दी रिक्त थियो। रिक्त भएको झण्डै ५ महिनासम्म बढुवा नगरी राखिएको थियो। डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराई ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास भएका थिए।   सुरक्षा संगठनमा यस्ताे बलमिच्याइ गरिरहेका राजनीतिक नेतृत्व हुन् गृहमन्त्री रमेश लेखक । विधी र विधानकाे चर्काे कुरा गर्ने उनैकाे पालामा गृहमा यस्ताे बेथिति देखिएकाे छ । मन्त्री लेखक सभापति देउवाकै नजिकका सुदुरपश्चिमका नेता हुन् ।