काठमाडाैं । सिक्टा सिँचाइ आयोजनाको साढे २ अर्बको ठेक्कामा सेटिङमा दिएको आरोप लागेको छ। पश्चिमी नेपालको राप्ती नदीमा रहेको सिक्टा सिंचाइ आयोजना अन्तर्गत डुडुवा शाखा नहर निर्माणका लागि यो टेन्डर आह्वान भएको हो। ४३ किमि नहर निर्माणको ठेक्का दुई कम्पनीले पाउने गरी ‘शुक्रबार प्राविधिक र आर्थिक दुवै प्रस्ताव खोल्ने तयारी भएपछि ‘कार्टेलिङ’ भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको हो। राजनीतिक तहमा शक्तिशाली पहुँच भएको शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवालाई ठेक्का दिने गरी कार्टेलिङ गरेको सम्बद्ध व्यवसायीले दाबी गरेका छन्।   ‘सिँचाइ विभागले राखेको योग्यताअनुसार बढीमा ६ कम्पनीको मात्रै योग्यता पुग्छ’, ३० वर्षदेखि निर्माण क्षेत्रमै काम गरिरहेका एक व्यवसायी भन्छन्, ‘यस आधारमा बढीमा ६ कम्पनीबीच प्रतिस्पर्धा हुने देखिन्छ। त्यसमा पनि शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठले चलखेल गरेर ठेक्का हत्याउन खोजेका छन्।’ स्वदेशी कम्पनी मात्रै सहभागी हुन सक्ने गरी आह्वान गरिएको नहर निर्माणको टेन्डरमा ८ कम्पनी योग्य हुने देखिन्छन्। तर योग्य अन्य कम्पनीलाई २ प्रतिशत दिएर शर्मा एन्ड कम्पनी र कुमार श्रेष्ठ निर्माण सेवाले ठेक्का हत्याउने सहमति भइसकेको यो प्रक्रियामा सम्वद्ध एक सरकारी अधिकारीले बताएका छन्।  यो ठेक्का कार्टेलिङमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र सिँचाइ विभागका महानिर्देशक देवराज निरौलाले सहयोग गरेको आरोप छ। ती अधिकारीका अनुसार शर्मा एन्ड कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक रमेश शर्मा तथा कुमार श्रेष्ठ निर्माणका कुमारले महानिर्देशक र सचिवलाई प्रभावित पारेका छन्।    कुमार श्रेष्ठ निर्माण सेवाका प्रबन्धनिर्देशक सुशील श्रेष्ठले सिक्टाको टेन्डरमा सहभागी हुने जानकारी दिए।  पश्चिमी नेपालको राप्ती नदीमा रहेको सिक्टा सिँचाइ आयोजनाका अनुसार मुख्य नहरको शाखा र उपशाखा निर्माण हुनलागेको हो। यसको शाखा २३ किलोमिटरको र उपशाखाहरु १०–१० किमिका गरी कुल ४३ किलोमिटरको नहर निर्माण हुनेछ। नहरको लागत अनुमान २ अर्ब ५० करोड रुपैयाँ छ। यसको निर्माणसँगै हेड रेगुलेटर, क्रस रेगुलेटर, गाउँका पुल निर्माण गर्नुपर्नेछ।