काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबैलाई बिहीबार बिहान छलफलका लागि बोलाएका छन्। उनले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्। पार्टीतर्फका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न देउवाले उनीहरूलाई बोलाएको उनका स्वकीय सचिव भानु देउवाले बताए। सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन्। उनीहरूको कामका विषयमा गुनासो बढेपछि देउवाले छलफलका लागि बोलाएका हुन् । कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए। सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसले १२ जनालाई पठाएको छ। सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ। पार्टी पदाधिकारी, संसदीय दल कार्यसमिति र मन्त्रीहरूबीच छलफल गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन खोजिएको कांग्रेसको भनाइ छ। सरकारले गरेकाे समग्र काम र कांग्रेसकै मन्त्रीहरूका प्रति सार्वजनिक रूपमा तिब्र असन्तुष्टि सार्वजनिक भएका छन् ।