साना दललाई पेल्नेगरी कानुन संशोधन गर्न खोजेपछि इन्डोनेसियामा चर्कियो आन्दोलन
एजेन्सी । संवैधानिक अदालतले साना दलहरूलाई पनि चुनावी प्रतिस्पर्धामा सहज हुने गरी गरेको फैसला उल्टाउने गरी सरकारले हतारमा निर्वाचन कानुन संशोधन गर्न लागेपछि इन्डोनेसियामा सरकारविरोधी आन्दोलन चर्किएको छ । इन्डोनेसियामा हजारौंले राजधानी जकार्ताका साथै अन्य प्रमुख सहरहरू पडाङ, बान्डुङ्ग र योगकर्तामा पनि संसद् बाहिर भेला भएर प्रदर्शन गरिरहेको बीबीसीले उल्लेख गरेको छ । बुधवार इन्डोनेसियाको सर्वोच्च अदालतले उम्मेदवार खडा गर्नका लागि पार्टीहरूलाई उनीहरूको क्षेत्रीय सभाहरूमा न्यूनतम २० प्रतिशत प्रतिनिधित्व आवश्यक नपर्ने निर्णय गरेको थियो । उक्त निर्णयको २४ घण्टा भित्रै संसदले यी परिवर्तनहरूलाई उल्टाउन आपतकालीन प्रस्ताव पेश गर्यो । त्यसपछि विरोध चर्किएको हो । फास्ट-ट्र्याक गरिएको कानुन संशोधन प्रस्तावले अदालतको निर्णयका केही भागहरूलाई उल्टाउने छ । यो कानुन पारित भए अहिलेको यथास्थिति कायम राख्नेछ, जसले निवर्तमान राष्ट्रपति, जोको ‘जोकोवी’ विडोडो र उनका उत्तराधिकारी, प्रबोवो सुब्यान्टोको सत्तारूढ गठबन्धनमा रहेका दलहरूका लागि सहजता प्रदान गर्दछ र धेरै स्थानीय चुनावहरू निर्विरोध हुने अवस्था आउँछ ।