नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो।
संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन
संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको शपथ गराउन नमिल्ने तर्क गरेका छन्। फौजदारी अभियोगसम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला चौधरीलाई कानुनविपरीत शपथ गराइएको अधिकारीले दाबी गरे।
‘संसद् भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने स्थल हो’, अधिकारीले भने, ‘जनताको प्रतिनिधि हुन न्यूनतम चारित्रिक स्तर कानुनले निर्धारण गरेको छ। चौधरीको शपथ कानुनसम्मत छैन।’ सभामुख महराले प्रतिपक्ष दल र अन्य कानुनी परामर्शबिना कार्यकारीको जस्तो अधिकार प्रयोग गरी शपथ गराउनु गलत भएको अधिकारीले जिकिर गरे।

