चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। ढुङ्गामाटोसहित खसेको पहिरोका कारण चीनबाट नेपालतर्फ बग्ने नदीको बहाव करिब आधाजति थुनिएको हो।
भोटेकोशी गाउँपालिका–२ लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा बिहीबार बिहान पहिरो खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। पहिरोले नदी थुनिएपछि जुनसुकै बेला विपद्जन्य घटना निम्तिन सक्ने भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोटेकोशी, बाह्रबीसे र बलेफी गाउँपालिका क्षेत्रअन्तर्गत नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ। नदीमा पानीको बहाव एक्कासि बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई पूर्वतयारी अपनाउन सुरक्षा निकायले सूचित गरेका छन्।


