इरान र अमेरिकाबीच बढ्दो तनावका बीच सामरिक महत्त्वको होर्मुज जलघाँटी खुल्ने विषय अन्योलमा पर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ। गत साता उल्लेख्य गिरावट आएको तेलको भाउ सोमबार बिहानैदेखि वृद्धि हुन थालेको हो।

रोयटर्सका अनुसार सोमबार नेपाली समयअनुसार बिहान ६ बजेर ४१ मिनेट जाँदा ब्रेन्ट कच्चा तेलको वायदा मूल्य ९१ सेन्ट अर्थात् १.०९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि ६१ सेन्ट अर्थात् ०.७८ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७८.७९ डलर पुगेको छ।

इरान र ओमानबीच छिट्टै सम्झौता भएर होर्मुज जलघाँटी पुनः खोलिने आशामा गत साता दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो। तर वार्ता निष्कर्षमा नपुग्दा र अनिश्चितता कायमै रहँदा बजारमा आपूर्ति सहज हुनेमा पुनः संशय पैदा भएको छ।

वर्तमान युद्ध सुरु हुनुअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा यही होर्मुज जलमार्गमार्फत हुने गर्दथ्यो। त्यसैले यो प्रमुख जलघाट बन्द भइरहँदा विश्वव्यापी तेल आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ।

तेहरानले ओमानसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। तर इरानले सम्झौता अघि बढाउनका लागि अमेरिकाले अझै केही सर्त पूरा गर्नुपर्ने बताएको छ ।

इरानको यस अडानले गर्दा जलमार्ग खुल्ने समय अझै लम्बिने देखिएको छ। यसै कारणले गर्दा अन्तर्राष्ट्रिय तेल बजारमा थप अनिश्चितता सिर्जना भएको छ।