मैदान भित्र जति आक्रमक देखिन्छन्, मैदान बाहिर त्यति नै शालिन छन् रोनाल्डो। जसले गर्दा संसारभर छुट्टै छाप छोड्न सफल भएका छन्।

पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलको जिउँदो इतिहासका रुपमा लिइन्छ। दुई शतकभन्दा लामो समय राष्ट्रिय टोलीको जर्सी लगाएका रोनाल्डो पोर्चुगलका सर्वकालिन खेलाडी पनि हुन्।

विश्व फुटबलको एउटा इतिहास रोनाल्डोको नाममा छ। पाँच पटक बालोन डि ओर उपाधि जितेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि २२० खेलमा १४५ गोल गरेका छन्। विश्व फुटबलको थुप्रै उपाधि र कीर्तिमान आफ्नो नाममा गरेका रोनाल्डोले जित्न बाँकी फिफा विश्वकपको उपाधि थियो।

सन् २००६ देखि विश्वकप खेल्न थालेका रोनाल्डोले लगातार ६ संस्करण खेल्दै सबैमा गोल गर्ने खेलाडी पनि बने। तर प्रि क्वार्टरफाइनलमा स्पेनसँग १-० गोलले पराजित हुँदा रोनाल्डो मात्र हैन, पोर्चुगल पनि विश्वकपको उपाधि दौडबाट बाहिरियो।

यसअघि लुका मोड्रिचको क्रोएसिया पोर्चुगलसँग नै पराजित हुँदै अन्तिम ३२ बाट बाहिरिएको थियो। अन्तिम १६ को खेलमा नर्वेसँग २-१ गोलले पराजित हुँदै पाँच पटकको च्याम्पियन पनि विश्वकपको उपाधि दौडबाट बाहिरिएको थियो।

पोर्चुगलले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन। त्यसैले पनि रोनाल्डो आफ्नो अन्तिम विश्वकपमा टोलीलाई उपाधि दिलाउन चाहान्थे। तर विश्वकपको सुरुवातबाट नै पोर्चुगिज टोली र रोनाल्डोबीच मतभेदका कुरा बाहिर आउँदा केही आलोचनाको सामना पनि यी खेलाडीले गरे।

रोनाल्डोले सन् २००१ बाट यू-१७ बाट पोर्चुगलको जर्सी लगाउन थालेका थिए। २००१ र २००२ मा यू-१७ खेलेका रोनाल्डोले सन् २००४ मा यू-२३ पनि खेले। यो बीचमा नै अर्थात सन् २००४ देखि नै रोनाल्डो पोर्चुगलको टोलीमा पुगे।

क्लब फुटबलमा पनि रोनाल्डोले आफ्नो बेग्लै छाप छाडेका छन्। क्लब फुटबलको कीर्तिमान पनि रोनाल्डोको नाममा छ। सन् २००२ मा स्पोर्टिङ सिपीबाट व्यवसायिक फुटबल खेल्न थालेका रोनाल्डोले एक सिजन त्यहाँ बिताए। सन् २००३ मा म्यानचेस्टर युनाइटेड पुगेका रोनाल्डोले सन् २००९ सम्म त्यहाँ बिताए। यो बीचमा उनले १९६ खेलमा ८४ गोल गरे।

सन् २००९ मा युनाइटेड छाडेर रियल मड्रिड पुगेका उनले आफ्नो करियरको उर्जावान समय त्यही बिताए। सन् २००९ देखि २०११ सम्म रियलमा रहँदा रोनाल्डोले २९२ खेलमा ३११ गोल गरे।

त्यस्तै, सन् २०१८ देखि २०२१ सम्म युभेन्टसमा रहँदा ९८ खेलमा ८१ गोल गरे। सन् २०२१-२२ को सिजनका लागि पुनः म्यानचेस्टर युनाइटेड फर्केका उनले ४० खेलमा १९ गोल गरे।

त्यसपछि भने रोनाल्डोको खेल करियर युरोपबाट एसियामा सुरु भयो। कीर्तिमानी रकममा साउदी क्लब अल नासारमा अनुबन्ध भएका रोनाल्डोले १०७ खेलमा १०२ गोल गरेका छन्।

क्लब फुटबल होस् वा विश्व फुटबल रोनाल्डोको तुलना सधैँ अर्जेन्टिनी कप्तान लियोनल मेस्सीसँग हुने गर्छ। विश्व फुटबलको चर्चा हुँदा यी दुई खेलाडीको नाम लिइएन भने सधै अधुरो हुने गर्छ।

त्यसैले फुटबल विश्लेषक, समर्थकले यी दुवैलाई कट्टर प्रतिद्धन्दीको रुपमा चित्रण गर्छन्। तर अन्तर्राष्ट्रिय मञ्चमा भने मेस्सी र रोनाल्डो दुवैले एकअर्काको खुलेर तारिफ गर्छन्। मेस्सीले सन् २०२२ को कतार विश्वकप अर्जेन्टिनालाई दिलाउँदै आफुलाई पुर्ण खेलाडीको रुपमा उभ्याइसकेका छन्।

सम्भवत मेस्सी र रोनाल्डो दुवै अन्तिम विश्वकप खेलिरहेका छन्। मेस्सी गोल्डेन बुटको दौडमा रहँदा रोनाल्डो भने अन्तिम १६ बाट घर फर्केका छन्।

विश्वकपबाट रोनाल्डोको बर्हिगमनसँगै एक युगको अन्त्य भएको छ। मैदानबाट बाहिरिदा रोनाल्डो जति भावुक बनेका थिए त्योभन्दा बढी उनका समर्थकले आफूलाई सम्हाल्न सकेका थिएनन्।

सामाजिक सञ्जालमा रोनाल्डोको जति धेरै आलोचना हुन्छ, त्यति नै प्रशंसा पनि हुने गरेको छ। उनी विश्व फुटबलका एक महान खेलाडीका रुपमा दरिएका छन्।

एक युगको कथा रोनाल्डोको नाममा समर्पित छ। विश्व फुटबलबाट रोनाल्डो टाढा भए पनि उनको कीर्तिमानी, मैदान भित्र र बाहिरको सालिन व्यवहारको चर्चा सधैँ हुने गर्छ।