सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुग्न सफल भएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहीबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पाखा लगाउँदै अमेरिकाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अमेरिकालाई जित दिलाउन फोलारिन बालोगुन र मलिक टिलम्यानले एकएक गोलको योगदान दिए । खेलको ४५औं मिनेटमा बालोगुनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६४औं मिनेटमा उनले रातो कार्ड खाँदै मैदान छाड्नु परेपछि अमेरिका १० खेलाडीमा सीमित हुन पुग्यो ।

एक खेलाडी कम भए पनि आक्रामक खेल पस्किएको अमेरिकाले ८२औं मिनेटमा अर्को गोल थप्न सफल भयो । टिलम्यानले डिबक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक सिधै बोस्नियाको गोलपोष्टमा छिरेपछि टोलीको जित सुनिश्चित भएको थियो ।

अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमको सामना गर्ने तालिका छ ।