उपाधि दाबेदार जर्मनी पाराग्वेसँग पराजित भएपछि आउट

काठमाडौं । जर्मनकाे पहिलाे खेल र उसका खेलाडीकाे फर्म हेरेरे धेरैले उसलाई उपाधिकाे बलियाे दाबेदार मानेका थिए । तर नकआउट चरणकाे पाराग्वेविरुद्धकाे पहिलाे खेलमा नै जर्मन निराश भएर घर फर्कन बाध्य भयाे । पाराग्वेले सडन डेथमा जर्मनीलाई पराजित गर्दै मंगलबार विश्वकप २०२६६ को अन्तिम १६ मा प्रवेश गरेको छ । पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी रहेको हो । जोनाथन ताह छैटौं पेनाल्टीमा चुकेपछि पाराग्वेका लागि जोसे क्यानाले निर्णायक गोल गरे । पाराग्वेका जितमा गोलरक्षक ओरलान्डो गिल नायक रहे र उनले जर्मनीका दुई प्रहार रोके । जर्मन गोलरक्षक म्यानुएल नोयाले पनि दुई बचाउ गरे पनि त्यो पर्याप्त रहेन । यससँगै प्रतियोगितामा चार पल्टको च्याम्पियन जर्मनीको चुनौती समाप्त भएको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको हो । बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वेले ४२ औं मिनेटमा जुलियो एनसिसोको गोलले अग्रता लिएको थियो । तर यो लामो समय टिकेन र ५४ औ मिनेटमा जर्मनीका लागि काइ हार्भटेजले बराबरी गोल फर्काए । ताहले अतिरिक्त समयमा जर्मनीका लागि गोल गरे पनि त्यसले मान्यता भने पाएन । सन् २०१४ मा ब्राजिलमा अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै उपाधि जितेयता जर्मनीले नकआउट चरणमा खेल्न लागेको यो पहिलो अवसर थियाे । सन् २०१८ र २०२२ को विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । कुरासाओ र आइभोरी कोस्टलाई पराजित गर्दै नकआउट चरणमा पुगेको जर्मनी समूह चरणको अन्तिम खेलमा भने इक्वेडरसँग २–१ ले पराजित भएको थियो । पाराग्वे आफ्नो समूहमा तेस्रो भएर उत्कृष्ट ८ टोलीको रुपमा रहेर नकआउट चरणमा प्रवेश गरेको टोली हो । सन् २०१० यता पाराग्वेले पहिलो पटक नकआउट चरण खेलिरहेको हो । पाराग्वे समूह चरणको पहिलो खेलमा अमेरिकासँग ४–१ ले पराजित भयो । तर दोस्रो खेलमा टोलीले टर्किएलाई १–० ले पराजित गर्यो । अन्तिम खेलमा अस्ट्रेलियासँग गोलरहित बराबरी खेलेपछि टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो ।

