एजेन्सी । विश्व फुटबलको महाकुम्भ आजदेखि शुरु हुँदैछ । आज मध्यराति १२:४५ बजे मेक्सिको र दक्षिण अफ्रिकाबीच उद्घाटन खेल हुनेछ। यसपाली विभिन्न छनाेटका प्रकृया पार गर्दै ४८ देशले विश्वकपमा स्थान बनाएका छन् । १०४ खेल र ३९ दिनमा अमेरिका मेक्सिकाे र क्यानडामा हुने रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। विश्वकपमा यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्। विश्व फुटबलकाे नियामक निकाय फिफाले फुटबलकाे दायर अझ फराकिलाे र राेचक बनाउन केही देशहरु थप्नुका साथै केही नियममा पनि संशाेधन गरेकाे छ भने फुटबलमा समेत चिप्स राखिएकाे छ । प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्। जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ। पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। जतिबेला मात्र २४ टोली थिए। १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए। यसपालि टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ। नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन्। खेलको समय: राति १२:४५, १:००, २:०० देखि बिहान ४:४५, ५:४५ र ७:४५ सम्म। नेपालमा विश्वकपका सबै खेलहरू हिमालयन स्पोर्ट्स टेलिभिजन र डिएगो एपबाट प्रत्यक्ष प्रसारण हुनेछन्। यसका लागि निश्चित शूल्क तिर्नु पर्नेछ। यसपटकको उद्घाटन समारोह मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोह आयोजना गरिनेछ। तीनवटै आयोजक राष्ट्रले आफ्नो संस्कृति, इतिहास र पहिचानलाई विश्वसामू प्रस्तुत गर्नेछन्। मेक्सिको सिटीमा हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइला लगायतका अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन्। त्यसपछि ऐतिहासिक एस्टाडियो एज्टेकामा मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल हुनेछ। घरेलु समर्थकको अपेक्षा र दबाबबीच तीनै आयोजक राष्ट्र विश्वकपमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन्। जेसी मार्सको प्रशिक्षणमा रहेको क्यानडासँग जोनाथन डेभिड, साइल लारिन र टाजोन बुकाननजस्ता प्रभावशाली खेलाडी छन्। अल्फोन्सो डेभिजको फिटनेस चिन्ताको विषय भए पनि क्यानडालाई समूह चरण पार गर्ने दाबेदारका रुपमा हेरिएको छ। मेक्सिको पछिल्ला केही वर्षमा संघर्षरत देखिए पनि प्रशिक्षक हाभियर अगुइरेको नेतृत्वमा टोलीको आत्मविश्वास पुनः बढेको छ। विश्वकपअघि सर्बियामाथि ५–१ को प्रभावशाली जितले मेक्सिकोको मनोबल अझ बढाएको छ। उता अमेरिकाले माउरिसियो पोचेटिनोको नेतृत्वमा नयाँ ऊर्जा पाएको छ। सेनेगलविरुद्धको जित र जर्मनीसँगको प्रतिस्पर्धात्मक प्रदर्शनले अमेरिकी समर्थकहरुमा आशा जगाएको छ। लियोनल मेसी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप उपाधि दिलाउने अभियानमा छन्। प्रतियोगिताका दौरान ३९ वर्ष पुग्ने मेसी सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन्। सन् १९६२ यता कुनै पनि राष्ट्रले लगातार दुई विश्वकप जित्न सकेको छैन। त्यसैले अर्जेन्टिनासामू इतिहास रच्ने अवसर पनि छ। ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पनि अझै पोर्चुगलको टोलीमा छन्। फुटबल करिअरमा विश्वकप उपाधि उनका लागि ‘मिसिङ पज्जल’ हो। बलियो टोली भएकाले पोर्चुगललाई यसपालि उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ। फ्रान्सका कप्तान किलियन एमबाप्पे अर्का प्रमुख आकर्षण हुन्। क्लब फुटबलमा यस सिजन कठिन समय बिताए पनि विश्वकपमा उनी फेरि चम्किने अपेक्षा फ्रान्स समर्थकहरुको छ। त्यस्तै इङ्ल्यान्डका ह्यारी केन करिअरकै उत्कृष्ट लयमा छन्। नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ल्यान्ड ६० वर्ष लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ। यसैगरी स्पेनका युवा स्टार लामिन यामाल, ब्राजिलका राफिन्हा, अनुभवी नेयमार तथा बेल्जियम र पोर्चुगलका नयाँ पुस्ताका प्रतिभाहरुले प्रतियोगितालाई थप रोचक बनाउने अनुमान गरिएको छ।