काठमाडौं । काठमाडौंः संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ। अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने, प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थपबारे जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन्। तर, आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन। प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन्। संसद्को गतिरोध अन्त्य गर्ने विषयमा दलहरूबीच सहमति नजुट्दा बैठक सञ्चालन हुन सकेको छैन। प्रधानमन्त्रीले सदनमा आएर आफ्नो अभिव्यक्तिमा माफी माग्नुपर्ने अथवा सच्याउनुपर्ने माग प्रतिपक्षीको छ।