अमेरिकाले आफ्नो दशकौँ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ। अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले भिसा दुरुपयोग रोक्न र सुरक्षा जाँच कडा बनाउन ‘ड्युरेसन अफ स्टेटस’ प्रणाली हटाएर निश्चित समयावधिको भिसा नियम ल्याएको हो।

सेप्टेम्बर १५ देखि लागू हुने नयाँ व्यवस्था अनुसार एफ-वन र जे-वन भिसामा आउने विद्यार्थीहरूलाई अधिकतम चार वर्षको बसाइ सीमा तोकिएको छ। अध्ययन पूरा भएपछिको ‘ग्रेस पिरियड’ ६० दिनबाट घटाएर ३० दिन बनाइएको छ भने तोकिएको अवधिभन्दा बढी समय अमेरिका बस्नुपरेमा सङ्घीय सरकारको अनुमति लिनुपर्नेछ।

नयाँ नियम अमेरिकामा हाल अध्ययनरत पुराना विद्यार्थीहरूमा समेत स्वतः लागू हुनेछ। चार वर्षभन्दा बढी समय लाग्ने पाठ्यक्रमका लागि अध्ययन जारी राख्न अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (यूएससीआईएस) बाट बायोमेट्रिक्स र कडा छानबिनसहित स्वीकृति लिनुपर्नेछ।

यस बदलावले गर्दा भिसा थप्ने अधिकार विश्वविद्यालयबाट सङ्घीय सरकारमा सरेको छ। अध्ययनको विषय फेर्न, अवधि लम्बाउन र अर्को डिग्री लिनका लागि पनि कडा सरकारी नियन्त्रण रहनेछ।

नयाँ प्रणालीबाट आइपर्न सक्ने जटिलताबाट जोगिन कोलम्बिया युनिभर्सिटीजस्ता धेरै अमेरिकी विश्वविद्यालयहरूले बाहिर रहेका विदेशी विद्यार्थीलाई सेप्टेम्बर १५ अघि नै फर्कन सुझाव दिएका छन्। यो परिवर्तनले विशेष गरी मास्टर्स, पीएचडी र स्टेम तर्फका लामा पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रत्यक्ष असर पार्नेछ।

शिक्षा क्षेत्रका संस्थाहरूले भने यो कदमप्रति चिन्ता व्यक्त गरेका छन्। झन्झटिला प्रक्रियाका कारण अनुसन्धानमा ढिलाइ हुने र अमेरिका विदेशी प्रतिभाका लागि कम आकर्षक गन्तव्य बन्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।एजेन्सी