वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक: निष्क्रिय कर्जा ७.६ प्रतिशत, पुँजी पर्याप्तता सन्तोषजनक

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्राविधिक सहयोगमा सञ्चालन गरिएको १० वटा ठूला वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) को नतिजा सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार यस विशेष परीक्षणमा ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र प्रभु बैंक समावेश रहेका छन्।
बंगलादेशको विख्यात अडिट फर्म ‘हउलदार युनुस एन्ड को चार्टर्ड एकाउन्टेन्ट्स’ मार्फत सम्पन्न गरिएको यस परीक्षणले बैंकहरूको २०८१ चैत मसान्तसम्मको वित्तीय विवरणलाई आधार मानेको छ।
प्रतिवेदनले ती १० बैंकहरूको औसत निष्क्रिय कर्जा (एनपीएल) ७.६ प्रतिशत रहेको देखाएको छ, जुन सामान्यतया स्वस्थ मानिने सीमाभन्दा केही बढी देखिएको छ। कर्जाको गुणस्तरमा आएको ह्रासका कारण यस्तो नतिजा निस्किएको उल्लेख छ। यद्यपि, बैंकहरूको औसत पुँजी पर्याप्तता अनुपात भने ११.३० प्रतिशत कायम रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम ८.५ प्रतिशतको सीमाभन्दा माथि नै रहेको देखिन्छ।
यस बाह्य लेखापरीक्षणले नेपाली बैंकिङ क्षेत्रको वास्तविक वित्तीय अवस्था र कर्जा व्यवस्थापनको पारदर्शितालाई स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार गरिएको यो परीक्षणले बैंकहरूलाई आफ्ना सम्भावित जोखिम न्यूनीकरण गर्न र पूँजीगत संरचना थप मजबुत बनाउन दिशानिर्देश गर्ने विश्वास लिइएको छ।
राष्ट्र बैंकले प्रत्येक बैंकको छुट्टाछुट्टै र एकीकृत प्रतिवेदन तयार भएको जनाउँदै आगामी दिनमा यसका आधारमा आवश्यक नियामकीय कदम चाल्ने संकेत समेत गरेको छ।

