काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा एकैपटक भारी कटौती गरेको छ। निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २६५ अमेरिकी डलरसम्म मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य समायोजनसँगै अब आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम भएको छ। यसअघि यसको खुद्रा बिक्री मूल्य प्रतिलिटर २६९ रुपैयाँ रहेको थियो। निगमले एकैपटक ४० रुपैयाँ घटाएपछि आन्तरिक उडानको भाडा समेत घट्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि हवाई इन्धनको मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ। अब काठमाडौँमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १५६६ डलर कायम भएको छ, जुन यसअघि १८३१ डलर रहेको थियो। पोखरा र भैरहवा विमानस्थलको हकमा भने निगमले नाफा नराखी ‘ब्रेक इभन’ विन्दुमा इन्धन बिक्री गर्ने निर्णय गरेको छ। जसअनुसार पोखराका लागि प्रति किलोलिटर ११०० डलर र भैरहवाका लागि १०८५ डलर नयाँ मूल्य तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट र इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा यो निर्णय गरिएको निगमले जनाएको छ। नयाँ मूल्य बुधबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ।