आयल निगम भित्रैबाट तेलको भाउ घट्ने सूचना कसले चुहायो र कारबाही किन भएन ?

काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवाअन्तर्गत पर्छ । जुन अवरुद्ध गर्न पाइँदैन । तर, भाउ घट्ने सूचना चुहिएपछि मंगलबार आयल निगमबाट पेट्रोल–डिजेल नउठाएका पेट्रोल पम्प सञ्चालकहरूले बुधबार दिनभर पम्प नै बन्द गरे । मूल्य घट्ने सूचना चुहिएपछि मंगलबार देशभरका करिब ९० प्रतिशत पम्पले आयल निगमको डिपोबाट तेल उठाएका थिएनन् । त्यसको असर बुधबार उपभोक्ताले खेप्नुपर्यो । कार्यालय समयमा डिपो खोलेर आयल निगमले वितरण गरे पनि पम्पहरूमा पुग्न ढिला भएपछि सञ्चालकले तेल अभावमा पम्प नै बन्द गरे । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिसनका अध्यक्ष विश्वप्रसाद अर्यालले मूल्य घट्ने पूर्वअनुमान हुँदा व्यवसायीले खरिद नगर्नु स्वाभाविक भएको तर्क गरे । ‘मूल्य घट्ने निश्चित हुँदाहुँदै पम्पहरूले तेल खरिद नगर्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने, ‘बुधबार बाहिर हल्ला गरेजस्तो ठुलो अभाव भएको होइन, छिट्टै आपूर्ति सहज भएको अवस्था थियो ।’ तर, बुधबार पेट्रोलपम्पको अवस्था अर्यालले भनेभन्दा ठिकविपरीत थियो । अधिकांश निजी पम्प बन्द भएपछि प्रहरी, सेना, सशस्त्र र साझा सहकारीका पम्पमा तेल खरिद गर्न उपभोक्ताको लाइन लागेको थियो । छिटफुट खुलेका निजी पम्पहरूमा पनि उपभोक्ताको भिड थियो । आयल निगमको डिपोबाट तेल पुगेपछि भने दिउँसो ३ बजेबाट बिस्तारै स्थिति सामान्य बनेको हो । आयल निगमका प्रवक्ता मनोज ठाकुरले मूल्य घट्ने पूर्वानुमानअनुसार पम्प व्यवसवायीले तेल खरिद नगर्दा बुधबार आपूर्ति अहसज भएको बताए । ‘पम्पले तेल नै खरिद नगर्दा आपूर्तिमा असहजता भएको हो । पम्पहरू बन्द भएको थाहा पाउनासाथ अनुगमन टोली खटाएका थियौँ,’ उनले भने, ‘समस्याको समाधान पनि चाँडै नै भयो ।’ तर, कतिपय पम्प सञ्चालकलाई निगमकै कर्मचारीले मूल्य घट्ने सूचना दिएको स्रोत बताउँछ । सस्तोमा तेल किनेर महँगोमा बेच्नुपर्ने भएकाले पम्प सञ्चालकहरू मंगलबार नउठाउने निष्कर्षमा पुगेका थिए । यो तथ्य आयल निगमको थानकोट डिपोको अवस्थाले पुष्टि गर्छ । थानकोट डिपोले दैनिक १८३ पेट्रोलपम्पलाई औसत १५ लाख लिटर तेल बिक्री गर्छ, तर मंगलबार बिहान ११ बजेसम्म तेल किन्नका लागि जम्मा ४५ पेट्रोलपम्पले मात्रै निगमको खातामा पैसा जम्मा गरेका थिए । ती पम्पले पनि अरू दिनको भन्दा न्यून माग गरेका कारण मंगलबार कुल दुई लाख ४७ हजार लिटर मात्रै तेल थानकोटबाट बिक्री भएको थियो । बिहान ११ बजे नै देशभरका पम्पहरूले तेल नउठाएको खबर डिपोमार्फत केन्द्रीय कार्यालय पुगेको थियो, तर निगम व्यवस्थापनले पनि आपूर्ति सहजताका लागि पम्प सञ्चालकहरूसँग समन्वय गरेर तेल खरिदका लागि दबाब दिन चासो नै दिएन । इन्डियन आयल कर्पोरेसनबाट नियमित कार्यतालिकाअनुसार मंगलबार दिउँसो नयाँ मूल्यसूची आएपछि निगम सञ्चालक समितिको साँझ ६ बजे डाकिएको बैठकमार्फत इन्धनको भाउ घटाउने निर्णय भयो र राति ११ बजे निगमले विज्ञप्तिमार्फत जानकारी गरायो । पेट्रोल २० र डिजेल ३० रुपैयाँ प्रतिलिटर घटेको खबरले उत्साहित भएका उपभोक्ता बिहानै सवारीसाधन लिएर पम्पमा पुग्दा तेल भर्न पाएनन् । तर, अघिल्लो दिन तेल नउठाएकाले अधिकांश पेट्रोलपम्प रित्ता थिए । निगमको व्यवस्थापकीय अक्षमताका कारण पम्पहरूको सिन्डिकेट चलेको र बजारमा इन्धन अभाव भएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । ‘बुधबार दिनभर काठमाडौं उपत्यकासहित देशभरका अधिकांश पेट्रोलपम्प बन्द भएका छन् । पेट्रोलियम पदार्थको भाउ बढ्ने सूचना पाउनेबित्तिकै सक्दो स्टोर गर्ने र भाउ घट्ने सूचना पाउनेबित्तिकै निगमबाट नल्याउने प्रवृत्ति गलत छ,’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने, ‘यो उपभोक्तमाथिको गम्भीर अपराध हो । यसमा सूचना दिने निगमका कर्मचारी र तेल नउठाएर आपूर्तिमा असहजता ल्याउने पम्प सञ्चालकलाई कारबाही हुनुपर्छ ।’ बुधबार ९ बजे कार्यालय खोलेर बिहान ११ बजेसम्म कुन पम्पले कति तेल लैजाने भनेर तय भएपछि मात्रै आयल निगमले ट्यांकरमा तेल हालेर पम्पहरूमा पठाउन थालेको थियो । एउटा ट्यांकरमा तेल हाल्न करिब आधा घण्टा लाग्ने गरेको छ । त्यस्तै, एउटै ट्यांकरमा तीन–चार पेट्रोलपम्पका लागि तेल हालेर डिपोबाट ट्यांकर निस्कने गरेका छन् । एउटै ट्यांकरले पालैपालो पम्पहरूमा पुगेर तेल खसाल्दा तुलनात्मक रूपमा ढिला हुन्छ । यो प्रणालीका कारण डिपोबाट पम्पसम्म तेल आउन दिउँसो २ बज्छ । बुधबार पनि २ बजेतिर पम्पहरूमा तेल आउन थालेपछि आपूर्ति सहज भएको हो । पम्प खारेजी र सिल गर्न प्रधानमन्त्री कार्यालय र उद्योगमन्त्रीको दबाब बुधबार बिहानबाट काठमाडौं उपत्यकासहित देशभरका पम्प बन्द रहेको सूचना फैलिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत चासो राखेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले बन्द भएका पम्पहरूको सूची बनाएर खारेजी प्रक्रियामा लैजान निर्देशन दिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पनि करिब साढे १२ बजे आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बराललाई फोन नै गरेर तेल बिक्री नगरी आफूखुसी बन्द गरेर बसेका पम्पलाई कारबाही गर्न निर्देशन दिएकी थिइन् । उनले बन्द भएका पम्पको तुरुन्त अनुगमन गरी सिल गर्न र खारेजी प्रक्रियामा लैजान निर्देशन दिएको स्रोतले बतायो । मन्त्री यादवको निर्देशनपछि कार्यकारी निर्देशक बरालले पम्प अनुगमनमा कर्मचारी खटाएका थिए । मन्त्रालयको निर्देशन आउनुअघि नै आयल निगमको केन्द्रीय कार्यालयबाट करिब साढे ११ बजे एउटा टोली नियमित अनुगमन गर्न चक्रपथ एरियाका पम्पहरूमा पुगेको थियो । टोलीले पम्पहरूमा तेल नभएको पाएपछि सामान्य निर्देशन दिएर अनुगमन प्रतिवेदन बनाउँदै थियो । तर, मन्त्रीको निर्देशन आएलगत्तै केन्द्रीय कार्यालयबाट फोन गरेर अनुगमन भएका पम्पमा तेल नभएको खण्डमा सिल नै गर्नुपर्ने दबाब आएको एक कर्मचारीले बताए । ‘अनुगमनका क्रममा तेल नभेटिएको पम्पमा सिल लगाउनु भनेर केन्द्रीय कार्यालयबाट दबाब आयो । तेल भएर पनि नबेचेको भए पो सिल गर्नु, तेल नै नभई पम्पले के बेचोस् ?’ अनुगमनमा खटिएका एक कर्मचारीले भने, ‘त्यसैले के गर्ने भनेर हामी केही क्षण छलफलमै बस्यौँ ।’ ३–४ बजेबाट पम्पहरूमा तेल आउन थालेपछि वितरण सुरु भएर स्थिति सामान्य भएपछि भने पम्पहरूलाई सिल नगरी फर्केको ती कर्मचारीले बताए । प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयको ताकेतापछि दिउँसो करिब २ बजे अुनगमनमा निस्किएको टोलीले भने बानेश्वरको थ्री ब्रदर्स आयल स्टोर, तीनकुनेको रिकेश भ्याली स्टोरलगायत पम्पमा सिल लगाएको थियो । ‘बन्द भएका पम्पमा सिल लगाएर मात्र आउनू भनेर कार्यकारी निर्देशक बरालको निर्देशन थियो । उहाँले पनि माथिको आदेश भएकाले जसरी पनि सिल लगाएर मात्र फर्कनू भनेपछि हामीले दबाब थेग्न सकेनौँ,’ अनुगमनमा खटिएको एक कर्मचारीले भने । तर, साँझ पम्पहरूमा तेल जान थालेपछि भने निगमले सिल खोलिदिएको थियो । आयल निगमका प्रवक्ता मनोज ठाकुरले पम्पमा तेल गइसकेपछि बिक्री–वितरण गर्न सहज होस् भनेर सिल खोलिएको बताए । ‘सिल लगाएर पम्प बन्द गर्दा झन् बढी असहजता हुने भयो । त्यसैले आउँदा दिनमा गल्ती नदोहोर्याउने सर्त पालना गर्न लगाएर सिल खोलिएको हो,’ उनले भने । बन्द भएका पम्पहरूको काठमाडौं जिल्ला प्रशाशन कार्यालयले समेत अलग्गै टोली बनाएर अनुगमन गरेको थियो । बुधबार काठमाडौंका ८ र पोखराका ६ गरी कुल १४ पम्पमा सिल गरेको, तर डिपोबाट तेल पुगेपछि बिक्री गर्नका लागि सिल खोलिएको निगमले जनाएको छ । बुधबार नियमित परिमाणमै उठ्यो तेल पेट्रोलपम्पहरूले बुधबार दिउँसो नियमित माग परिमाणअनुसार नै तेल उठाएका छन् । काठमाडौं उपत्यकासहित नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत जिल्लामा इन्धन बिक्री गर्ने आयल निगमको थानकोट डिपोबाट बुधबार पम्पहरूले १३ लाख ६ हजार लिटर पेट्रोल र १२ लाख ७४ हजार लिटर डिजेल उठाएको डिपो प्रमुख जगदीश यादवले जानकारी दिए । त्यस्तै, सुदूरपश्चिमका पम्पहरूले दुई लाख ९० हजार लिटर पेट्रोल र सात लाख २४ हजार लिटर डिजेल उठाएको धनगढी डिपो प्रमुख मनोहर डिसीले जानकारी दिए । कर्णाली प्रदेशका पम्पले ८८ हजार लिटर पेट्रोल र दुई लाख ३२ हजार लिटर डिजेल उठाएको निगमको सुर्खेत कार्यालय प्रमुख दीपक घिमिरेले जानकारी दिए । नयाँ पत्रिकाबाट

